Logo
Logo

भारतीय दूध आयात रोक्न माग


630
Shares

चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हितविपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे ।

आयातित दूधका कारण नेपालमा किसान विस्थापित हुने स्थितिमा पुग्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालका दुग्ध उत्पादक सहकारी एवं किसानसँग मोलमोलाई गर्नका लागि बिचौलियको पक्षमा सरकारले निर्णय ग¥यो ।’

अहिले नेपालका दुग्ध उद्योगले किसानलाई तिर्नुपर्ने रकमसमेत नतिरेको बताउँदै उनले अहिलेसम्म नेपालको उत्पादनले पुगेको दूध अहिले नपुग्नुका कारण खोजिनुपर्ने बताए।

सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उहाँको भनाइ थियो । सरकारले विसं २०७५ बाट दूध आयातमा रोक लगाएको बताउँदै सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ती सच्चिनुपर्ने बताए ।

नेपालमा माग बढेको भए उत्पादनसमेत बढाउन लाग्नुपर्नेमा विनाआधार आयात गर्न दिनु किसानको हितविपरीत भएको उनको भनाइ थियो । चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषणा भइसकेको भन्दै उनले भारतबाट आयात गरिने दूधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताए ।

सङ्घका सचिव किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नुपर्ने बताए । आफूहरुले यो विषयमा सरकार र केन्द्रमासमेत जानकारी गराउँदा गराउँदै किसानको हितविपरीत निर्णय गरिएको बताए ।

चितवनमा दुधालु गाईभैँसी ६८ हजार छ सय ११ वटा रहेको र दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको उहाँले जानकारी दिए ।

यसमध्ये ४५ प्रतिशत दूध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्