Logo
Logo

राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन सर्वोच्च जाने तयारी, राय लिन कानुनविदहरुलाई बालुवाटार बोलाइयो


14k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीतिकबृत्तमा तरंग उत्पन्न भएको छ ।
सत्तारुढ गठबन्धनले राष्ट्रपतिको या कदमलाई गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

बुधबार बिहान बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै राष्ट्रपति भण्डारीले संसदीय मर्यादामाथि नै अपमान गरेको बताएका छन् । राष्ट्रपतिले संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि आज ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रपतिको पछिल्लो कदमबारे छलफल गर्न कानुनविदहरुलाई बोलाइएको हो । राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मान्ने वा राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने विषयमा कानुनविद्को राय लिन लागिएको गठबन्धनका एक नेताले बताएका छन् । उनका अनुसार कानुनविद्हरुको सल्लाहअनुसार गठबन्धनले राष्ट्रपतिको कदमबारे थप निर्णय गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्