Logo
Logo

सरकारी जागिर छाडेर बाख्रापालन


1.2k
Shares

मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बताएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक छन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरेका छन् ।

इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्छन । व्यावसायिकरुपमा सञ्चालित फाममा उनले केही सहयोगीहरु राखेका छन् । तर पनि उनलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उनलाई फार्ममै भेट्न सकिन्छ ।

सशस्त्र प्रहरीमा कार्यरत उनले सेवा अवधि नसकिँदै बीचैमा जागिर छाडे । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरे । उनलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाएनन् । ‘म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन’, उनले भने ।

वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बताए । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे । सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहीँबाट बाख्रापालनका बारेमा सिके ।

गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए । त्यसले पनि उहाँलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित ग¥यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे । उनको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भँैसी र एउटा गाई पनि पालेका छन् । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०/७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ ।

करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनको रु २४ लाख लगानी गरिसकेका छन् । ‘आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ’, उनले भने । कतिपय आफैँले गर्नसक्ने कामहरु उनी आफैँ पनि गर्छन ।

प्रतिक्रिया दिनुहोस्