काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन अधिकृत सिफारिस राजनीतिक आस्थाका आधारमा भएको भन्दै कर्मचारीले सच्याउन माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालय अन्र्तगत कार्यरत तीन कर्मचारी संगठनले मंगलबार संयुक्त बिज्ञप्ती निकाली राजनीतिक आस्था र गणेश प्रवृतिलाई बढवा दिएको आरोप लगाएका छन् ।
‘न्याय सेवा आयोगको हवाला दिँदै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि सरकारी वकीलबाट निर्वाचन अधिकृतमा भएको सिफारिसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘राजनैतिक विचार बोक्ने एक पक्षीय रुपमा, हचुवा र मापदण्डबिना छानि छानि गरिएको कर्मचारी सरुवा गरिएको छ ।’ एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सिफारिस सच्याउन माग गरेका छन् । नेपाली कांग्रेस निकट र जुनियरलाई मात्र सिफारिस गरेकाले निर्वाचन नै निष्पक्ष हुनेमा प्रश्न उठेपछि विरोध गरिएको एक कर्मचारीले बताए । कर्मचारी संगठनले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।
साथै, महान्यायाधिवक्ता कार्यालयले हालै गरेको सरकारी वकिलहरुको काज सरुवा तथा पुरस्कारसम्बन्धि विषयमा समेत निष्पक्ष निर्णय हुन नसकेको भन्दै उनीहरुले आलोचना गरेका छन् । सरकारी वकिलको सरुवामा न्याय सेवा आयोगले निर्णय नगरेको अवस्थामा महान्यायाधिवक्ता खम्मबहादुर खातीले काज सरुवा निकालेपछि कर्मचारीले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।