Logo
Logo

त्रिविमा आफन्तलाई जागिर प्रकरणः सेवा आयोगका अध्यक्षलाई अदालतको सफाइ


1k
Shares


काठमाडौं । त्रिभुवन विश्वबिद्यालयमा कर्मचारी भर्ना प्रक्रियामा भएको अनियमिततासम्बन्धि भ्रष्टाचार मुद्दामा सेवा आयोगका तत्कालिन अध्यक्षसहित चार जनाले सफाई पाएका छन् । प्राध्यापक तथा कर्मचारी भने दोषी ठहर भएका छन् ।


बिशेष अदालतले मंगलबार सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै सेवा आयोगका तत्कालिन अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणी पोखरेल, प्राध्यापक गोविन्द ढकाल तथा सह–प्राध्यापक तारा प्रसाद पौडेललाई सफाई दिएको हो । तत्कालिन प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल र सह–प्राध्यापकद्वय राजेश्वर न्यौपाने र राम बहादुर पाण्डेलाई भने दोषी ठहर भएको बिशेष अदालतका उपरजिष्ट्रार नारनप्रसाद भट्टराईले बताए । बिशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु यमुना भट्टराई र खुशी प्रसाद थारुको इजलाशले सो मुद्दाको फैसला सुनाएको हो ।


उपरजिष्ट्रार नारनप्रसाद भट्टराईका अनुसार तत्कालिन प्रशासन प्रमुख कोइरालालाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । मुख्य कार्यालय सहायक पाण्डे, कर्मचारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल र सह–प्राध्यापकद्वय राजेश्वर न्यौपाने र राम बहादुर पाण्डेलाई जनही चार महिना कैद र ६ हजार रुपैयाँ जरिवाना भएको छ । इन्दिराविरुद्ध यही सम्बन्धि दोस्रो मुद्दामा तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यक्ष शर्मासहित १० जनाविरुद्ध १८ असार २०७६ मा पहिलो मुद्दा दायर गरेको थियो । त्यस्तै, १५ चैत २०७८ मा दोस्रो मुद्दामा सहप्राध्यापक केशब घिमिरे, राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परिक्षण गर्ने प्रा.डा टेकनाथ ढकाल, तत्कालिन प्रशासन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो । दोस्रो मुद्दामा इन्दिरालाई मात्र दोषी ठहर गरिएको छ ।


कसरी भएको थियो अनियमितता ?
त्रिवि सेवा आयोगले २८ फागुन ०७३ मा विभिन्न १६ पदमा विज्ञापन गरेको थियो । त्यसमध्ये ६ पदको लिखित परीक्षाको नतिजा २०७६ को वैशाखमा प्रकाशित भएको थियो । उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणमा नम्बर केरमेट गरेर आफन्तलाई भर्ना गरिएको अख्तियारको छानबिनमा पुष्टि भएको थियो ।


३५ वटा उत्तरपुस्तिकमा नियोजित रूपमा प्राप्तांक केरमेट गरिएको अख्तियारको अभियोग थियो । उत्तरपुस्तिकाको कोडिङदेखि नै चलखेल गरेर कर्मचारीदेखि सेवा आयोगका अध्यक्षसमेत मिलेर लिखित परीक्षामा चलखेल गरेको दाबी आयोगको थियो ।


शाखा अधिकृत पदको लिखित परीक्षामा ६ जनाको उत्तरपुस्तिकामा केरमेट गरी नजिता प्रकाशन गरिएको थियो । उत्कृष्ट दुईजनालाई फेल गराई अन्य चारजनालाई नम्बर थपेर उत्तीर्ण गराइएको थियो । प्रशासन प्रमुख परशुराम पौडेलकी छोरी नमितालाई पास गराउन प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर पास गराएको अख्तियारको छानबिनमा खुलेको थियो ।
त्यस्तै, लेखा अधिकृत पदका लागि २४ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा सातजनाको उत्तरपुस्तिका केरमेट गरिएको थियो । संपरीक्षण गर्ने परीक्षकले ९ अंक घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारिएको थियो । सात जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको र त्सो कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको अख्तियारले अभियोग थियो ।


सहायक कानुनी सल्लाहकार पदमा एकजना मागिएकोमा यसमा पनि अनियमितता भएको थियो । पाँचौँ स्थानमा रहेको परीक्षार्थीलाई द्वितीय पत्रमा १५ अंक थपेर पहिलो मेरिटमा पारेको र दोस्रो स्थानमा रहेकालाई २ अंक घटाएर चौथो मेरिटमा धकेलिएको थियो । त्यस्तै अर्का परीक्षार्थीको द्वितीय पत्रमा ८ अंक घटाई पहिलोलाई दोस्रो मेरिटमा पारेको अनुसन्धानमा खुलेको छ । ३७ अंक आएकालाई १५ अंक थपिदिएर ५२ पु¥याएको तथा अन्य दुईजनाको प्राप्तांक घटाई ५० मा झारिएको थियो । यो काममा संपरीक्षक तारा प्रकाश पौडेलको संलग्नता रहेको आयोगको दाबी थियो ।


मुख्य लेखा सहायक पदको नतिजामा एकैजनाको पाँचपटकसम्म नम्बर केरमेट गरी उत्तीर्ण गरिएको थियो । सो पदमा २४ जनाको माग भएको थियो । उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालले तीनजनाको नम्बर घटाएर अन्य तीनजनाको थप गरेका थिए । ६ देखि १५ नम्बरसम्म घटबड गरिएको अख्तियारको अभियोग थियो ।


मुख्य कार्यालय सहायक पदका लागि १२ सिट माग भएको थियो । जसमा पाँचपटकसम्म नम्बर केरमेट गरी पास भएकालाई फेल र फेल भएकालाई पास गराइएको भेटिएको छ । ११ जनाको नतिजा केरमेट गरी प्रकाशन गरिएको थियो, यसमा रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकाल संलग्न थिए । त्यस्तै, कार्यालय सहायक पदका लागि कुल १४ पदसंख्या माग भएकोमा दुईजनाको परिणाम फेरबदल गरिएको छ । उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालले अनियमितता गरेका थिए ।
। ‘उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कुल प्राप्तांक केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भए सुरु अंक बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अंक सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिइएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख छ,’ अख्तियारको अभियोगमा भनिएको थियो ‘तर, त्यसविपरीत परीक्षकले जथाभावी अंक केरमेट गरेको देखियो । उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि डिकोडिङपश्चात् पास गराउनुपर्ने व्यक्तिलाई तिनीहरूका उत्तरपुस्तिकामा अंक थपघट गरी नतिजा फेरबदल गराएको पुष्टि हुन आयो ।’


आयोगमा कार्यरत कुनै शिक्षक र कर्मचारीको कुनै नातेदार वा आफू स्वयं आयोगद्वारा सञ्चालन हुने कुनै विज्ञापनमा उम्मेदवार भए त्यसको लिखित जानकारी सम्बन्धित शिक्षक र कर्मचारीले अध्यक्षलाई अनिवार्य दिनुपर्ने प्रावधान आयोगको आन्तरिक कार्यविधिको दफा ३६ मा छ । तर, धेरैले आफन्तकै कपी जाँच गरी भर्ना गराएका थिए ।

परीक्षा निष्पक्ष बनाउन त्रिवि सेवा आयोगले डबल कोडिङ व्यवस्था गरेको छ । दुवै कोडिङमा एकै व्यक्ति संलग्न गराएर अनियमितता भएको थियो ।


लिखित परीक्षाको केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्ति, लिखित परीक्षापछि उत्तरपुस्तिका परीक्षक नियुक्तिमा कोइरालाको प्र्रत्यक्ष संलग्नता देखिएको थिया । उनकै निर्देशनमा उत्तरपुस्तिकाको कोडिङ÷डिकोडिङ र रुजु गर्ने तथा नम्बर थपघट गरिएको भेटिएको अख्तियारको छानबिनको निष्कर्ष थियो कोइरालाकै निर्देशनमा आयोगको गोप्य शाखामा कार्यरत कर्मचारीहरू बच्चुराम पाण्डे र इन्दिरा तिवारी भन्तनाले कोडिङ र डिकोडिङमा आफ्नाको नम्बर बढाएर अन्य परीक्षार्थीको घटाएका थिए । मुख्य कार्यालय सहायक भन्तनाले भदैनी (दाजुकी छोरी) समीक्षा तिवारीलाई पास गराउन पाँचपटकसम्म प्राप्तांक केरमेट गरेको भेटिएको छ । उनले ३२ अंकलाई ६२ पु¥याएकी थिइन् ।


परीक्षणका क्रममा चलखेल हुन सक्ने भएकाले कम्तीमा ३३ प्रतिशत उत्तरपुस्तिका संपरीक्षण गर्नुपर्ने त्रिवि सेवा आयोगको प्रावधान छ । तर, सातवटा उत्तरपुस्तिका मात्र संपरीक्षण भएको र संपरीक्षण गर्दा त्रुटि देखिएको पनि सुधारको प्रयाससमेत गरिएको थियो । अर्काेतर्फ उत्तरपुस्तिका संपरीक्षण गर्दा कम्तीमा दुईजना विशेषज्ञ समिति बनाउनुपर्नेमा एकजना मात्र राखिएको थियो । अझ टेकनाथ ढकालले त संपरीक्षण गर्ने क्रममा २ नम्बरसमेत थप गरेका थिए । संपरीक्षणको अनियमिततामा सहप्राध्यापक ताराप्रसाद पौडेल र प्राध्यापक टेकनाथ ढकालको संलग्नता देखिएको थियो ।


कर्मचारी भर्नामा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र लोकसेवा आयोगको प्रतिनिधिका रूपमा सदस्य रहेका ब्रह्मदेव राय सम्मिलित कमिटी बनेको थियो । लोकसेवाका तत्कालिन सदस्य राय १६ वटा बैठकमध्ये चारवटामा मात्र सहभागी भएका थिए । उत्तरपुस्तिका संपरीक्षण, कोडिङ÷डिकोडिङ, नतिजा प्रकाशनलगायत बैठकमा उनी सहभागी नभएकाले उनीविरुद्ध मुद्दा दायर भएको थिएन । प्रा.डा ढकालले आयोगका पदाधिकारी तथा कर्मचारीले धम्काएर आफुलाई नम्बर थप्न लगाएको बयान दिएका थिए । कर्मचारीहरू परशुराम कोइराला र गोविन्द ढकाल तथा संपरीक्षक टेकनाथ ढकालले अध्यक्ष शर्मा र सदस्य पोखरेलकै निर्देशनमा आफूहरूले नतिजा प्रकाशन गरेको बयान दिएका थिए । तर, शर्माले भने बयानको क्रममा नैतिक जिम्मेवारी लिदै त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्