Logo
Logo

विद्यादेवी- महारानी अवतारदेखि एमालेको ‘प्यादा’सम्म


17.6k
Shares

काठमाडौं । बारम्बार विवादमा पर्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकाल सकिनै लाग्दा झनै ठूलो विवादमा तानिएका छन् । 

संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लङ्घन गर्दा अत्यन्तै विवादित र आलोचित भएका छन् ।

अभिभावकीय भूमिकामा प्रस्तुत हुन नसकेका राष्ट्रपति अनेकौं विवादमा फसेका छन् । राष्ट्रपति विवादमा फस्दा राष्ट्रपति संस्थाको गरिमामा आँच पुगेको छ ।

नागरिकता विधेयक अस्वीकार, असंवैधानिक रुपमा गरिएको संसद् विघटन सदर, प्रधानमन्त्री शेरबहादुर देउवाको बोली नबुझिएको भन्दै गरेको व्यंग्य, सदनमा सम्बोधन गर्दा ‘मेरो सरकार’ भनेको, निवासमा हेलिप्याड निर्माण, महँगो गाडी, सवारीमा सर्वसाधारणलाई सास्ती, दशैंको टीकालगायत लगायतले राष्ट्रपतिलाई अत्यन्तै विवादित बनायो ।

राष्ट्रपति विवादित भएका प्रतिनिधि घटनाहरू

१. संविधानमाथि प्रहार, असंवैधानिक यात्रा 
संसद्ले दोस्रोपटक पारित गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो । उक्त विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लङ्घन गरे ।

अन्य विवादका विषय सामान्य भएपनि संविधानको संरक्षकबाट नै संविधानमाथि भएको प्रहार सामान्य रहेन । यो राष्ट्रपतिबाट भएको प्रतिगमन हो ।

संविधानको धारा ११३ को उपधारा ३ अनुसार राष्ट्रपतिले विधेयक फिर्ता गर्न पाउँछन् । तर, फिर्ता गरेको विधेयक पुनः संसदबाट पारित भएर आए प्रमाणीकरण गर्नुको विकल्प छैन । 

धारा १३३ को उपधारा ४ अनुसार पुनः प्रमाणीकरणका लागि आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्छ । मंगलबार १५ दिनको अन्तिम दिन थियो । तर, राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएन ।

राष्ट्रपतिको यो कदम असंवैधानिक हो । त्यसैले चौतर्फी आलोचना र विरोध भइरहेको छ । सत्तारुढ गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु गैरसंवैधानिक भएको ठहर गरेको छ । 

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । त्यस्तै पूर्वराष्ट्रपति रामवरण यादवले पनि राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका छन् । 

२. ओलीको असंवैधानिक कदमका सारथी 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरे । मन्त्रिपरिषद्ले गरेको विघटन सिफारिस क्षणभरमै जारी गरे ।

संविधानको संरक्षक भूमिकामा रहेका राष्ट्रपतिले प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएका कारण चर्को आलोचना भयो । देशको राष्ट्रपति नभइ एमालेको कार्यकर्ता भएको आरोप लाग्यो ।

ओलीले दोस्रो पटक २०७८ जेठ ८ गते मध्यरातमा संसद् विघटन गरे । संसद् विघटनको सिफारिस लिएर ओली रातको १२ बजेपछि राष्ट्रपतिसमक्ष पुगे । तत्काल स्वीकृत गरेर एमालेको प्यादा भूमिकामा प्रस्तुत भए ।

यसरी राष्ट्रपति असंवैधानिक कदमको मतियार बने । त्यसबेला राष्ट्रपतिलाई महाभियोग लगाएर पदच्यूत गर्नुपर्ने माग उठेको थियो ।

३. ओलीको प्यादा भूमिकामा राष्ट्रपति
संवैधानिक निकायमा आफू अनुकूलका पदाधिकारी नियुक्त गर्न तत्कालीन प्रधामन्त्री ओलीले २०७७ वैशाख ८ गते संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी दुई अध्यादेश ल्याए ।

ओलीबाट आएको उक्त दुई अध्यादेश राष्ट्रपतिले हतार–हतार जारी गरे । ओलीको चाहना पूरा गर्न राजनीतिक र कानुनी असरबारे परामर्श नगरी जारी गरेको भन्दै ब्यापक आलोचना भयो ।

चौतर्फी विरोधपछि मन्त्रिपरिषद्कै सिफारिसमा भण्डारीले उक्ता अध्यादेश खारेज गरे । 

४. विलासी गाडी मोह
२०७४ मा तत्कालीन सरकारले सेनामार्फत् राष्ट्रपतिले विलासी गाडी किन्न लागेको थियो । त्यो चाहनाको चार्को आलोचना र विरोध भयो ।

राष्ट्रपतिकै चाहनामा गाडी खरिदका लागि १८ करोड रूपैयाँ विनियोजन भएको थियो । चौतर्फी आलोचना र विरोध भएपछि विलासी गाडी चढ्ने राष्ट्रपतिको चाहना पूरा हुन सकेन । 

५. आँगनमै हेलिप्याड
राष्ट्रपतिकै चाहनामा राष्ट्रपति कार्यालयको आँगनमै हेलिप्याड बनाउन लागिएको थियो । त्यस विषयले पनि राष्ट्रपति विवादमा तानिए । 

हेलिप्याड बनाउनका लागि २०७६ भदौमा मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेमा सार्ने निर्णय गर्यो । 

राष्ट्रपतिको फगत चाहना पूरा गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्न नहुने भन्दै आलोचना भएपछि राष्ट्रपति कार्यालय र सरकार पछि हट्नु पर्यो । 

विलासी गाडी र आँगनमै हेलिप्याड बनाउने राष्ट्रपतिको चाहनालाई महारानी बन्ने चाहनाको रुपमा व्याख्या गरियो । 

६. जनताको राष्ट्रपतिमा सामन्ती अवशेष
२०७५ को दशैँमा राष्ट्रपतिले सर्वसाधारलाई घुँडा टेकाएर टीका लगाइदिए । राष्ट्रपतिले राजा महाराहारुको नक्कल गरेको भन्दै आलोचना भयो ।

पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली लगायत धेरै विशिष्ट र सर्वसाधारणले राष्ट्रपतिसँग घुँडा टेकेर टीका थापेको फोटो सार्वजनिक भयो । आफू कुर्सीमा बसेर विशिष्ट व्यक्ति तथा सर्वधारणलाई रैती झै घुँडा टेकाएर टीका लगाइदिनु सामन्ती शैली भएको टिप्पणी मात्रै भएन ब्यापक आलोचना भयो ।

७. जनता मर्दै गर्दा करोडको गलैँचा
आम जनता कोरोना भाइरसका कारण जीवन मरणको अवस्थामा हुँदा राष्ट्रपति भने ‘करोडको गलैँचा’ किन्दै थिए । करिब ३०–३० लाख रुपैयाँको दुई र ४० लाख पर्ने अन्य गलैँचा राष्ट्रपति कार्यालयले किन्यो ।

विदेशी अतिथि आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने भन्दै महँगो गलैँचा किनिएको थियो । त्यति नै खेर जनता भोकले मर्दै थिए ।

जनता भोकले मरिरहेको बेला राष्ट्रपति कार्यालयले करोडको गलैँचा खरिद गरेका कारण राष्ट्रपतिको चर्को आलोचना भयो । 

८. विदेश भ्रमणको मोह
राष्ट्रपति भण्डारीले २०७५ सालमा चार दिने कतार भ्रमण गरे । विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएको बेला उक्त देशको भ्रमण गरेपछि राष्ट्रपतिको आलोचना भयो ।

दोस्रो पटक राष्ट्रपति बनेपछि उनको त्यो पहिलो विदेश भ्रमण थियो । केही कूटनीतिज्ञहरूले उनको भ्रमणलाई ‘अपरिपक्व’ भनेका थिए ।

राष्ट्रपति जस्तो सम्मानित ओहदाका व्यक्तिले अनावश्यक भ्रमण गरेको भन्दै चौतर्फी आलोचना र विरोध भयो । 

९. चिकित्सा शिक्षा अध्यादेश 
अघिल्लो कार्यकालमा बिना कारण राष्ट्रपतिले ‘चिकित्सा शिक्षा अध्यादेश’ लामो समय रोके । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी प्रमाणीकरणका लागि २०७४ कार्तिक ६ गते पठाएको अध्यादेश रोकिएपछि राष्ट्रपतिको आलोचना भयो ।

एमालेको पक्षमा उभिएर राष्ट्रपतिले अत्यावश्यक अध्यादेश रोकेको आरोप लाग्यो । प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रमबाटै पटक–पटक आपत्ति जनाए । चौतर्फी आलोचना पछि बल्ल कात्तिक २४ गते अध्यादेश जारी भयो ।

१०. सपथ नै विवादित
राष्ट्रपतिले दोस्रो कार्यकालका लागि अवकाश पाइसकेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिए । त्यो सपथ विवादित बन्यो । 

अवैधानिक प्रधानन्यायाधीसँग सपथ लिएको दाबी गर्दै अधिवक्ता नारायण खरेलले सर्वोच्च अदालतम रिट दायर गरेका थिए । 

उमेर हदका कारण २०७४ साउनमै अवकाश पाएको ठहर भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति पदमा निर्वाचित भएका भण्डारीलाई फागुन सपथ खुवाएका थिए ।

११. सेनालाई जुत्ता बोकाएर महारानी बन्ने प्रसाय
पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ गते राष्ट्रपति धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिर पुगे ।

उक्त धार्मिक भ्रमणमा राष्ट्रपतिले आफू र दुई छोरी उषाकिरण र निशाकुसुमको जुत्ता सेनालाई बोकाए । सेनालाई जुत्ता बोकाएको तस्बिर सार्वजनिक भएपछि महारानी बन्न खोजेको भन्दै अर्को आलोचना भयो ।

प्रतिक्रिया दिनुहोस्