Logo
Logo

एमालेसँग ठोक्किन आउनेलाई ठीक पार्ने ओलीको चेतावनी


693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई ‘महानता ठानेको’ आक्षेप लगाएका छन् ।

फाइल फोटो

बिहीबार पूर्वआइजीपी सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भइरहेको बताए । उनले भने, ‘सत्ता गठबन्धनबाट राष्ट्रपतिको अपमान गर्ने काम भइरहेको छ । जुन उसले महानता ठानेको छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी देशको, संविधानको र कानूनको भाषा बोल्ने समेत दाबी गरे । ‘नेकपा एमाले देशको भाषा बोल्छ । जनताको भाषा बोल्छ । संविधानको भाषा बोल्छ । कानूनको भाषा बोल्छ,’ उनले भने, ‘तर, गठबन्धन मसलको भाषा बोल्छ । निजी स्वार्थको भाषा बोल्छ ।’

गठबन्धन निजी स्वार्थका लागि जे काम पनि गर्न तयार हुने अवस्था देखिएको अध्यक्ष ओलीको आरोप छ । उनले भने, ‘गठबन्धन निजी स्वार्थका लागि जेजे गर्नुपर्छ गर्छ । एमाले देशको स्वार्थका लागि जेजे गर्नुपर्छ त्यो गर्छ ।’

एमाले गठबन्धनका पार्टीजस्तो सुरक्षाको खोजी गर्दै दौडिने पार्टी नरहेको बताउँदै उनले भने, ‘हाम्रो पार्टी गठबन्धनजस्तो आफ्नो सुरक्षा खोजेर, आफ्ना स्वार्थका लागि हुडुल्किएको गठबन्धन होइन । देश बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्ने क्रियाशील समूह यो संस्था हो ।’

ओलीले सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको बताउँदै भने, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’

सत्ता गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको आरोप लगाउँदै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए । सत्तामा बस्नेहरुमा अहंकार बढ्दै गएको उनको भनाइ छ ।

ओलीले भने, ‘यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैनन् भने मंसिर ४ गते हिसाब किताब जनताले गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्