Logo
Logo

गठबन्धनले लोकतन्त्रकै उपहास गरेको छ : ओली


693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराको बचाउ गरेका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरे ।

ओलीले भने, ‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ ? फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन ।’ संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई नभएको भन्दै उनले भने, ‘तर उहाँले गर्नुभयो । ६ महिनासम्म चेपेर राख्नुभयो ।’

अहिले संसदको अवधि सकिएसँगै महाभियोग पनि सकिएको बताउँदै भने, ‘संसदले अभियोग प्रमाणित नभएपछि संसद सभामुख स्वभाविक रुपमा फर्केर जान्छ । तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो ।’

उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखिएको दावी गर्दै भने, ‘गठबन्धनले लोकतन्त्रकै उपहास गरेको छ ।’

प्रधानन्यायाधीश कस्तो भन्नेमा आफु नजाने भन्दै उनले कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताए । ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए । ‘कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ ?’ ओलीले भने, ‘सेक्युरिटी खोस्ने, पानीको पाइप काट्ने यो लोकतन्त्रको नाम लिन लाज लाग्नुपर्ने होइन ?’

प्रतिक्रिया दिनुहोस्