काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि देशमा सुरक्षा चुनौती थपिएको सुरक्षा निकायका प्रमुखहरूले निष्कर्ष निकालेका छन् । पछिल्लो राजनीतिक अवस्थापछिको सुरक्षा चुनौतीबारे बिहीबार नेपाली सेनाको मुख्यालयमा बसेको चार सुरक्षा निकायका प्रमुखहरूले यो विवादले चुनावी सुरक्षा नै प्रभावित हुनसक्ने विश्लेषण निचोड निकालेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र सेनाका रथीबीच जंगी अड्डामा भएको भेटघाट तथा छलफलमा पछिल्लो सुरक्षा चुनौतीबारे विश्लेषण भएको थियो । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा राजनीतिमा धु्रवीकरण भएको र यो चुनावी मुद्दा हुन सक्ने भएकाले यसैले सुरक्षा चुनौती थपिएको उनीहरूको निष्कर्ष थियो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार एकातर्फ नागरिकता विधेयक चुनावी एजेन्डा बन्दा राजनीतिमा थप धु्रवीकरण हुने सम्भावना छ भने अर्काेतर्फ नागरिकता नपाएकाले आन्दोलन गर्ने भएकाले सुरक्षा चुनौती थपिएको हो । ‘छलफल कार्यक्रममा समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल एवं अन्तक्र्रिया भएको,’ जङगी अड्डाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।