Logo
Logo

अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार सञ्चालनमा आउँदै


441
Shares

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । ‘दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो’, उनले भने, ‘त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।’

उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए । ‘विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ’, उनले भने । शर्माका अनुसार केही दिन अगाडि मात्रै केबलकारका सामान झारिएको छ । ‘टावरको सामान आउन ढिलाइ भयो, अहिले सामान झारेर काम सुरु भएको छ’, उनले भने ।

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ ।

होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको शर्माले बताए ।

कम्पनीले केबलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुराँ सञ्चालन हुनेछ । एक घण्टाको रु २५ हजार शुल्क तिरेपछि रु १०÷१५ हजार बराबरको खानाको सुविधा पनि दिइने जनाइएको छ ।

‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्