Logo
Logo

वडा कार्यालयमा थुपारिए छाडा पशुचौपाया


- दृष्टि न्युज/संवाददाता

0
Shares

बेजाड, ३० साउन । रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले सताएपछि यहाँका स्थानीयले वडा कार्यालय परिसरमै लगेर बाँधिदिएका छन् ।
खेतबारीमा लगाएका अन्नबाली, तरकारी खेती समूहमा आएका पशुले खाएर नष्ट पार्न थालेपछि कृषकले सम्बन्धित वडा कार्यालय तथा नगरपालिका कार्यालयमा गुनासो राख्दै आए पनि व्यवस्थापन हुन सकेको थिएन ।
पटकपटक छाडा पशुचौपायाले सताएर हैरानी खेपेका यहाँका स्थानीयले नगरपालिका–६ को कार्यालय परिसरमै लगेर बाँधिदिएका हुन् । स्थानीय आफैँले अस्थायी टहरा निर्माण तथा बारबन्देज गरेर यत्रतत्र छरिएर रहेका छाडा पशु बाँध्न थालिएको छ ।
छाडा पशुले रातदिन खेतबारीमा पसेर बालीनाली नै नोक्सान गरेको जताततैबाट गुनासो आएपछि स्थानीयको सक्रियतामा व्यवस्थापन गर्ने काम भएको धर्मराज ढकालले जानकारी दिए । ‘बारबन्देज, टहरा निर्माणलगायतका काम स्थानीय मिलेर गरियो, अहिले छाडा पशुचौपायाको गाउँघरमा समस्या कम हुँदै गएको छ’, उनले भने । अस्थायी टहराभित्र २५ वटा छाडा पशुचौपाया रहेका छन् ।

उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी नै उठाउनै नसकिएको बताउँदै अहिले अस्थायी टहरा बनाएर राखेपछि कृषि व्यवसाय ढुक्कका साथ गर्न थालेको गंगा बस्यालले बताए ।
‘पटक पटक खेतबारीमा पसेर बालीनाली नै सखापै पारेपछि वडा कार्यालयमै डो¥याएर लगेर बाँधिदिएका छाँै, अस्थायी टहराभित्र पशु बाँध्न थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ’, उनले भने । अस्थायी टहरा निर्माण खर्च व्यवस्थान तथा हेरालु दुई जना व्यक्तिको प्रबन्ध वडा कार्यालयले गरिदिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
‘कृषकको गुनासोलाई मध्यनजर गर्दै हाललाई वडा कार्यालय परिसरमै अस्थाथी टहरामा बाँधिएको छ, छाडा पशु व्यवस्थापन तथा गाई संरक्षणका लागि वडा नं ६ कै तातोपानीघाटमा पक्की गौशाला निर्माणको काम भइरहेको छ, आउँदो तिहारको लक्ष्मीपूजाका दिन गाई बाँधेर उद्घाटन गर्ने योजना छ’, अध्यक्ष न्यौपानेले बताए ।
नगरपालिकाको रु ५० लाखको लागत अनुमानमा १५ रोपनी क्षेत्रफलमा २०० पशु अट्ने क्षमताको गौशाला निर्माण भइरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताए । यहाँ गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका कृषक खुशी भएका छन् । यत्रतत्र छरिएर दिनहुँ समूहमा १०÷१५ वटा छाडा गाई, बाच्छा किसानको खेतबारीमा पसेर एकैपटक बालीनाली नै सखापै पार्न थालेपछि कृषकले सास्ती भोगिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्