Logo
Logo

एमालेसँग चुनावी तालमेल गर्न लोसपा तयार


2k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेपछि त्यसको विरोधमा मधेशमा आन्दोलन चलिरहेको छ । तर, मधेसवादी दल भनेर चिनिएको लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) भने नेकपा एमालेसँग चुनावी तालमेल गर्न जुटेको छ । एमालेले नागरिकता विधेयकको विरोध गर्दै आएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र लोसपा तालमेल गर्ने तयारीमा जुटेका छन् । एमालेसँग चुनावी तालमेलका लागि लोसपाले कार्यदल गठन गरेको छ ।

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन् ।

नागरिकता विधेयक पारित गर्न एमाले तयार नभएपनि त्यसले चुनावी तालमेलमा असर नगर्ने लोसपाले जनाएको छ । नागरिकता विधेयक र चुनावी तालमेललाई एउटै रूपमा हेर्न नहुने लोसपाले जनाएको छ ।

लोसपाका वरिष्ठ नेता महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गर्दै आएका छन् ।

यसअघि एमालेले नागरिकता विधेयक ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेको भन्दै यसपटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकिएको महतोको बुझाइ छ ।

एमालेसँग चुनावी तालमेल गर्न जुटेका महतो भन्छन्, ‘नागरिकता विधेयक चुनावसँग जोडिँदैन । यो चुनावी तालमेल भोटको लेनदेन हो ।’

चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने बताउँदै उनले सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिएकाले एमालेसँग तालमेल गर्न छलफल अगाडि बढाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्