Logo
Logo

काबुलमा मस्जिदमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा


693
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदअगाडि शुक्रबारको प्रार्थनापछि भएको आक्रमणको निन्दा गरेका छन् ।

महासचिव गुटेर्रेसले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका प्रवक्ता स्टेफन दुजारिकले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

अफगानिस्तानको राजधानी काबुलस्थित वजीर मोहम्मद अकबर खान मस्जिदमा भएको विस्फोटमा परी सात जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो मस्जिदको मुख्य प्रवेशद्वारअगाडि एउटा गाडीमा राखिएको बम विस्फोट भएको थियो । गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रीन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो ।

यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् ।

विष्फोट हुँदा उपासकहरू शुक्रबारको नमाज पढेर धार्मिक स्थलबाट बाहिर निस्किरहेका थिए । यस आक्रमणको जिम्मेवारी शनिबार अपरान्ह्सम्म कुनै पनि समूह वा व्यक्तिले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्