Logo
Logo

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ९ जना पक्राउ


504
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुल सहित सर्लाही ईश्वरपुर नगरपालिका(४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ पदमपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ८० मिलीग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ५० ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी धनुषाको सबैला नगरपालिका-१० गेरुवाही नहरस्थित सडकबाट अवैध लागूऔषध भाङ करिब १५ किलोग्राम सहित धनौजी गाउँपालिका-२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेट सहित भारत घर भई वीरगंज महानगरपालिका-१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई-रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका सम्पुर्ण र घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्