Logo
Logo

सिरहामा झिझिया नृत्यको रौनक


504
Shares

सिरहा । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो ।

दसैँ सुरुसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।

मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिरारीमा झिझिया नृत्य प्रतियोगिता आयोजना गरिएको र नृत्यमा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार दिने दुर्गा पूजा समिति अध्यक्ष शिवशंकर कापरले बताए । यस्तै, कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजार दुर्गा मन्दिरमा अर्नामाबाट आएका महिलाको समूहले झिझिया नृत्य गरेको स्थानीय अजय मण्डलले बताए । जिल्लाकै लक्ष्मीपुर पतारी गाउँपालिक–१ रामपुर दुर्गा मन्दिर प्राङ्गणमा झिझिया नृत्य प्रतियोगितामा सहभागी हुन झिझिया समूहलाई आमन्त्रण गरेको स्थानीय रामकुमार रजकले बताए ।

सिरहामा कमला नदी क्षेत्रमा बसोबास रहेका बस्तीमा बढी झिझिया खेल्ने गरेको पाइन्छ । जिल्लामा कर्जनहा नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, गोलबजार नगरपालिका केही भागमा यो नाच देखाइन्छ । जिल्लाकै पूर्वी स्थानीयतहमा र सप्तरीमा झिझिया नृत्य मनाउने चलन छैन ।

गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दसैँताका झिझिया नृत्य नाच्ने गरेको विष्णुपुर गाउँपालिकाका सन्तोष यादवले बताए । समाज रुपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । अहिले मञ्च लगाएर ‘डिजे साउण्ड’मा झिझिया हुन थालेको चौहर्वाका दीपेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्