दाङ । घोराही उपमहानगरपालिका-११ बन्चरेबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
१ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका-१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका(६ वैशाखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १६ मिलीग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे.७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त ठाउँमा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित रामेछाप, रामेछाप नगरपालिका-८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित ईलाम माई नगरपालिका-२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।