Logo
Logo

मोरङमा यस्तो छ गठबन्धनबीच सिट भागबण्डा


11.2k
Shares

मोरङ । मोरङमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट टुंगिएको छ । गठबन्धनका प्रमुख चार दलबीच सिट बाँडफाँटमा सहमित भएको हो । जसअनुसार मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी सहमति भएको छ ।

नेताहरुका अनुसार आसन्न प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटै क्षेत्रबारे सहमति भएको छ । नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका सिट भागभण्डामा गठबन्धनबीच सहमति भइसकेको बताए ।

अघिल्लो निर्वाचनमा जसले जितेको क्षेत्र हो, उसैलाई दिने सैद्धान्तिक सहमति भएको अध्यक्ष लिम्बूको भनाइ छ । ‘यसअघि माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ उसैले पाउने सहमति भएको छ । बाँकी ४ वटा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्छ’ उनले भने ।

यस्तै, माओवादीका पोलिटब्यूरो सदस्य गोपी बहादुर अछामीले पनि मोरङमा सिट बाँडफाँटको टुङ्गो लागेको बताउँदै भने, ‘कांग्रेसले ४ र माओवादीले २ निर्वाचन क्षेत्र पाउनेगरी सहमतिको अन्तिम चरणमा छौं । आज दिनभरिमा सहमति भइसक्छ ।’

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले मोरङको ४ वटा निर्वाचन क्षेत्रमा सहमति भइसकेको बताउँदैm क्षेत्र नम्बर ४ र ५ मा सहमति हुन बाँकी रहेको बताए । उक्त क्षेत्रमा आफूहरुको दावी रहेकाले माओवादीसँग सहमति हुन बाँकी रहेको उनले बताए ।

प्रारम्भिक सहमतिअनुसार मोरङको क्षेत्र नम्बर १ बाट कांग्रेसका डिकबहादुर लिम्बू, २ नम्बर क्षेत्रमा कांग्रेसका डा.मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, ३ बाट कांग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।

एमालेले १ नम्बर क्षेत्रमा घनश्याम खतिवडा र शिवमाया तुम्वाहाम्फेमध्ये एक जना, २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, ५ बाट गयानन्द मण्डल र ६ नम्बरबाट लालबाबु पण्डित वा टिकाराम पुरीलाई उम्मेदवार बनाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्