Logo
Logo

लोप हुँदै पिङ परम्परा, हराउँदै मौलिक संस्कृति


सुशीला रेग्मी/रासस

1k
Shares

रामपुर, पाल्पा । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।

पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आले सम्झन्छन् ।

बारीका कान्ला बाबियोले भरिएको हुन्थ्यो । मनबहादुर सम्झन्छन्–

‘बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटि संरक्षण गरेर राखिन्थ्यो, दसैँँ आउन लाग्यो भनेपछि तल्लो गाउँकाहरु हाम्रा गाउँमा आएर बाबियो काटेर लैजादा बल्ल दसैँँ आयो भन्ने आभास हुन्थ्यो ।’

तर, आजभोली बाबियो खोज्न तल्लो गाउँले आउँदैनन्, दसैँमा पिङ खेल्ने चलन पनि हराउँदै गयो । मनबहादुर खल्लो मान्दै भन्छन्– ‘हिजोआज त कमैले बाबियो खोज्नुहुन्छ, हाम्रै गाउँमा पनि पहिलाजसो पिङ पातलो राख्न थालियो ।’

पहिला पहिला विक्रम्दी, भञ्ज्याङबारी, कुसुण्डे, गोलैचे, सर्पराज, छत्तिवनडाँडा, गिजिनडाँडालगायत ठाउँमा काठबाट बनेको चर्खे पिङ राख्ने गरिएकोमा मनबहादुर सम्झन्छन् । आजकल चर्खे पिङ हराउँदै गएको छ । चर्खे पिङ त देखिनै छोड्यो फाट्टफुट्ट लिङ्गे पिङ देखिन्छ ।

पहिले पहिलो गाउँका सबै साथीभाई बिहानै उठेर बाबियो खोजेर पिङ राखेको सम्झन्छन, महेन्द्र तिवारी । गाउँमा अनिवार्यजसो दसैँँ र तिहारमा लिङ्गे पिङ राख्ने गरिएकोमा अहिले यो राख्न छाडिदै गएको उनको बुझाइ छ ।

महेन्द्र भन्छन– ‘घरदेखि टाढाका गाउँमा पुगेर बाबियो खोजेर ल्याइन्थ्यो, गाउँले सबै जम्मा भएर बाटेर पिङ तयार पारिन्थ्यो, अहिले पिङ बनाउन बाँबियो खोज्ने, बाट्ने झण्झट गर्न छाडियो ।’

दसैँँँ सुरु हुनुअघि गाउँका बारी, कान्लामा पुगेर बाबियो काटेर पिङ बनाउन भ्याइनभ्याइ हुने रामबहादुर रानाका दिन अहिले फुर्सदिलो बनेको छ । महिना दिनअघिदेखि नै गाउँघरमा आफँैले नेतृत्व गरेर पिङ हाल्ने रामबहादुरले दसैँँमा बाँबियो काट्न, पिङ बाट्न छाडेको धेरै वर्ष भइसक्यो ।

रामबहादुर भन्छन्– ‘पिङ खेल्न पहिलाजसो रहर मान्न सबैले छाडेपछि गाउँमा बाँबियो काटेर दुःखसँग तयार पार्न छाडियो । सबै आफ्नै दैनिकीमा व्यस्त बने, गाउँघरमा बजार वस्ती बढ्दै जाँदा पार्कहरु बनेका छन्, सानासाना बालबालिकालाई त्यही लगेर कृत्रिम पिङ खेलाउन थाल्ने क्रम बढ्यो । परम्परागत पिङका अस्तित्व हराउँदै गयो ।’

परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको हो । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । हिजोआज परम्परादेखि नै चलनचल्तीमा आएको चर्खे, लिङ्गे जस्ता पिङ लोप हँुदै गएको छ । यद्यपि, चर्खे पिङको तुलनामा लिङ्गे पिङ भने पूर्णरुपमा विस्थापित भइसकेको छैन । तर लिङ्गे पिङ पहिलेजसो बाक्लोमात्रामा भने भेटिँदैन ।

चर्खे पिङ नखेलेसम्म दसैँँ आएको अनुभूति नहुने गरेको अनुभव सुनाउँछन्, बलबहादुर राना । चारदेखि आठ जनासम्म बस्न मिल्ने काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको भए पनि अहिले कतै देख्न नपाउँदा संस्कृति नै हराउन पुगेका उनको चिन्ता छ ।

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एकपटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो । कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए ।

पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढाटाढाबाट दसैँँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो । तर अहिले, पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान छ । दसैँँका दिन एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिने गरिन्छ ।

आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिदैनन् । सानासाना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन बढ्न थालेको छ । गाउँघरमा चनचल्तीमा आएको चर्के पिङ, लिङेपिङ र घुमाउने पिङ खेलेर मज्जा लिदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने, खुसी साटासाट गर्ने गरिन्थ्यो ।

कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्