Logo
Logo

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ


2k
Shares

बागलुङ । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटक विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसके ।

भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित समेत गरिसकेका छन् ।
पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन गरिरहेका छन् ।

भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि दुई चरण पर्यटक ल्याइसकेका उनी फेरि पर्यटक ल्याउने तयारीमा छन् ।

अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने उनको योजना छ । त्यसका लागि उनले उक्त मार्गको अध्ययन सकेका छन् ।

यसो त बागलुङ सदरमुकाम घुम्नका लागि आउनेहरु आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ– बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ ?

बागलुङका अधिकांश होटल व्यवसायीसँग उक्त प्रश्नको जवाफ हुन्छ– पर्यटकीय गाउँ भकुण्डे ।

दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ– भकुण्डे गाउँ ।

बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुना अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् ।

प्रकृतिको बरदानको रुपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको स्थानीय खिमबहादुर थापा बताउँछन् ।

पर्यटक बढेसँगै भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

किन लोभिन्छन् भकुण्डेमा पर्यटक
एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलकन ।

नभन्दै यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निर्माण गरिएको छ । भकुण्डेको मध्यभागमा ६ सुन्दर बराह ताल छन् ।

बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अर्ग्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् ।

तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोन गर्न सकिन्छ । भकुण्डेस्थित मुलावारीमा हिराताल भने विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमश्रृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ ।

समुन्द्री सतहदेखि २ हजार २ सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरु सम्मोहित हुने गरेका छन् ।

घरबासमा आएका पहुनाको स्वागत र बिदाई गर्ने संस्कारले घरबासमा आउने पर्यटक लोभिन्छन् । यहाँको मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ ।

भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उनको शालिकसहित उद्यान निर्माण भइरहेको छ ।

क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रुपमा स्याङजाको शिरुबारीमा घरबास सञ्चालन गरेका थिए ।

आन्तरिक पर्यटकका लागि मात्र आकर्षण केन्द्र बनेको छैन, यहाँको घरबासमा रम्न विदेशी पर्यटक हेलिकप्टरमार्फत समेत आउने गरेका छन् ।

भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटक आउने गर्दछन् । घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा गर्दै यहाँ आउन थालेका छन् ।

साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् ।

खानेपानी र सडक सुधारको आवश्यक
घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्नुपर्ने देखिन्छ ।

यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ । बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो पुगिन्छ । पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पुर्याउन स्थानीय सरकारले पहल गरिरहेको छ ।

यहाँको मुख्य समस्या पानी र सडक सुधार हो । खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ ।

केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा छ ।

भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी
बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।

बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गरिने छ ।

अब प्यराग्लाइडिङ पनि
भकुण्डे नजिकै बलेवाको ढिकबाट प्यराग्लाइडिङका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुरु भएपछि सराङ्कोटको प्याराग्लाइडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रुपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण थालिएको हो । प्याराग्लाइडिकङको सफल परीक्षण समेत भइसकेको छ ।

पर्यटकको आकर्षण अर्ग्यानिक परिकार अर्ग्यानिक
भकुण्डे गाउँमा उत्पादन भएका अर्ग्यानिक परिकारले समेत पर्यटकहरुलाई थप आकर्षण गरेको छ । अहिले यहाँका ८ घरमा घरबास सञ्चालन गरिएको छ ।

भकुण्डे घुम्न आएका पर्यटकहरुको बसाई लम्बाउनका लागि स्थानीय परिकारले सहयोग पुर्याएको घरबासका सञ्चालक इन्द्र कुमारी थापा बताउँछन् ।

२०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएका यहाँका घरबासमा एकै रात ५० जना भन्दा बढी पहुना राख्न सकिने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापा बताउँछन् ।

सामुदायिक घरबासमा पछिल्लो पटक पहुनाको रोजाइअनुसारको सेवा सुविधा दिँइदै आएको छ । सामुदायिक घरबासबाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुराँ र होटल समेत सञ्चालित छन् ।

घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरलाई लोभ्याउने गरेको छ ।

चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुने गरेको छ । घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् । बस्नका लागि आरमदायी कोठाको सुविधा दिइएको छ ।

शुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै लगेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापनसहितको शौचालय र स्नानघरको समेत सुविधा छ ।

स्थानीय उत्पादनहरुको स्वादको मज्जा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् ।

कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले पुनः फष्टाउन थालेको छ । वर्षाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको बेला यहाँका घरबासमा भने पर्यटकको चहलपहल भइरहे छ ।

भकुण्डे गाउँमा आउने पर्यटकको कारण यहाँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामीण पर्यटनको अवधारणा ल्याउन सकिनेतर्फ ध्यान दिन थालिएको छ ।

(राष्ट्रिय समाचार समितिको सहयोगमा तयार पारिएको सामग्री ।)

प्रतिक्रिया दिनुहोस्