Logo
Logo

अन्नपूर्ण पदमार्ग : सडकमार्गले फेरियो तालिका


2k
Shares

मनाङ । नेपालको पर्यटकीय गन्तव्यमध्ये एक हो मनाङ । नेपालको हिमाली जिल्ला मनाङ बाह्य मात्र नभएर आन्तरिक पर्यटकका लागि समेत रोजाइमा पर्छ ।

विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १० औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय सुरु भइसकेको छ । यो समयमा बाह्य मात्र नभई यहाँ आउने आन्तरिक पर्यटकहरू पनि बढेका छन् । केही पहिलेसम्म विश्वका पर्यटक यहाँ यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गरेका थिए । तर, अहिले उनीहरूको यो तालिका फरक भएको छ ।

लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने यो पदमार्ग छोटिएको छ । अब बेँसीसहरबाट चामे–खाङ्सारसम्म यात्रालाई छोटो बनाउँदै जीपको माध्यममार्फत पुग्न सकिने र तोकिएको समयभन्दा छिटो यात्रा पूरा गर्न सकिनेगरी अन्नपूर्ण पदमार्गको यात्रा छोटिएको हो । पदयात्रा छोटिएसँगै अहिले काठमाडौं वा पोखराबाट एकै दिनमा मनाङ पुगेर अन्नपूर्ण पदमार्गको यात्रा तय गर्न सकिन्छ ।

विश्वका पर्यटकको रोजाइमा मनाङ ङिस्याङ गाउँपालिका–८ थोराङ्ला भञ्ज्याङ पर्छ । पहिले यो ठाउँ पुग्न १८ दिन लाग्थ्यो । तर, सडक सञ्जाल विस्तारसँगै पदमार्गको दूरी घटेको छ । माथिल्लो मनाङ, खाङ्सारसम्म सवारीमार्फत सहजरुपमा एकै दिनमा पुग्नसक्ने भएपछि पदमार्गको यात्रा छोटिएको स्थानीयको भनाइ छ ।

अहिले माथिल्लो मनाङसम्म सवारीमा यात्रा गरेपछि तीन दिनमा थोराङ्ला पार गर्न सकिन्छ । यसरी यात्रा गर्दा लेक लाग्ने सम्भावना बढी हुने गरेको छ । कम उचाइबाट एकसाथ आएका पर्यटकलाई उच्च स्थानमा अक्सिजनको अभावले लेक लाग्ने गरेको स्थानीय बताउँछन् ।

लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लालाई एउटै मार्गले फूलको मालाझैँ जोडेको छ । यसै मार्गलाई गन्तव्य बनाएर आउने बाह्य पर्यटकले १८ दिनमा पूरा गर्ने पदमार्गको दूरी अहिले घटेको छ । सडक सञ्जालले जोडिएसँगै केही स्थानमा पर्ने यो पदमार्ग देखिँदैन । तर, सडकले जोडिएकाले कतिपय मार्गमार्फत हिँड्नुपर्ने अवस्था भने छैन ।

कहीँ मोटरेवल सडक सञ्जालले पदमार्गमा हिँड्न अप्ठ्यारो पर्ने गरेको छ । जसले गर्दा पदमार्ग छोटिन थालेको छ । पदमार्गसँगै सडक सञ्जाल सञ्चालन हुँदा पदयात्रीले सास्ती भने बेहोर्नुपरेको छ । यसले गर्दा पदयात्री सवारीको प्रयोग गर्न बाध्य भएका छन् ।

लामो तालिका बनाएर अन्नपूर्ण पदमार्ग यात्रामा आएकी फिनल्याण्डकी नागरिक नियाले भनिन्, ‘सडक सञ्जाल विस्तार भएको राम्रो हो । पदमार्ग मासिनु हुँदैन । पदयात्रा गर्न आउने पर्यटकलाई साँघुरो सडक सञ्जाल त्यसैमाथि पदमार्ग जोडिँदा यात्रा गर्न कठिन हुने रहेछ ।’ उनले यसलाई मनाङवासीले ध्यान पुर्याउँनु पर्ने बताउँछिन् ।

पदमार्गमार्फत् हिँड्ने क्रममा सडकमा धुलो र हिलोले गर्दा सास्ती बेहोर्नुपरेको उनको अनुभव छ । सडक र पदमार्गलाई फरक तवरबाट संरक्षण गर्न सकिएमा सहज हुने र यात्रीलाई पनि आनन्दले यात्रा गर्ने वातावरण बन्ने उनको पर्यटकको भनाइ छ ।

पदमार्गको केही स्थानमा बाढी र पहिराले क्षति पुर्याएकाले संरक्षण, मर्मत तथा नयाँ ट्र्याक निर्माण गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतम बताउँछन् । उनका अनुसार हिमपातमा पनि पर्यटक आउँने गरेका छन् । तर, त्यसका लागि पर्यटकलाई सहज बनाउन एक सय मिटर दूरीमा खम्बा राखिएको छ ।

पदमार्गमा पर्यटकले फालेका फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहले ठाउँ–ठाउँमा खाल्डो बनाएका छन् । यात्राका क्रममा पर्यटकलाई दिसापिसाब लाग्दा सहज होस् भनेर स्थानीय तहले मनाङका बस्तीबाहेकका क्षेत्रमा शौचालयको व्यवस्थापनसमेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्