स्थानीय तह निर्वाचनमा पहिलो पुल्टुङ खाइसकेपछि नेपालका कम्युनिष्टहरू दोश्रो पुल्टुङ अर्थात् मंसिर ४ को पुल्टुङको रिहर्सलमा लागिपरेका छन् । सिङ तिखारेर, नंग्रा उद्याएर र भन्न हुने नहुने सबै भनेर, गर्न हुने नहुने सबै गरेर चुनावको ताण्डव सम्पन्न हुनेछ । सबैले अनुमान गरेकै कुरा हो, दुईतिहाइको जनमत नपचेर बरालिएका उनीहरू सबैका झुण्डहरूको हातमा ठूलो संख्यामा पराजयको हात लाग्नेछ ।
शुरूमै एउटा निवेदन गरूँ, आफूलाई अब्बल कम्युनिष्ट हूँ भनेर दावी गर्ने सुतुरमुर्ग कम्युनिष्ट आदर्श र सिद्धान्तबाट कोसौं टाढा पुगिसकेको छ । ‘दुनियाँलाई फेर्छु भन्थ्यो, आफ्नै फेरिएछ’ भन्ने आभासको गीतकै हूबहू पात्र हो उ । छोराछोरीलाई काठमाडौँका राम्रा कलेज अथवा विदेशका महंगा कलेजमा पढाएर उसले भर्खरै पहुँचका आधारमा आफ्नाको मन्त्रालयबाट दशैं पेस्कीले खल्ती गरम गराइसकेको छ ।
थिङ्क ट्यांक, प्रोफेसर, कवि, साहित्यकार, कलाकार जसले समाजमा सज्जन नागरिक पैदा गर्छन, राजनीतिक दलहरूको मोलमोलाई बजारमा उनीहरू बिक्रि भइसकेका छन् । संचार माध्यमहरूको त कुरै गर्न परेन । पत्रकार नै जब पार्टीगत हिसाबले संगठनलाई मुख्य मिसन बनाएर पत्रकारिता गरेपछि सूचना पाउनेका हातमा पार्टीको भोंपाको हल्ला मात्रै पुग्छ ।
आजित जनताले बालेनलाई जिताएको यो धुन्धुकारी नेतृत्वका लागि खेलाँची भएको छ र ? उ बालेनलाई गिज्याउने, सकेसम्म सन्डमुण्ड लगाएर असफल पर्न उद्यत छ । कम्युनिष्टहरू पहिलो लाइनमा छन्, बालेनलाई असफल बनाउन ।
जागरूक जनताले हेरिरहेका छन् । मंसिर ४ मा उसले फेरि देखाइदिने छ । लामो पंक्ति पो छ, तन्देरीहरूको । भित्र हुर्किरहेको छ, भय । डराउनेले नै हो नडराएको अभिनय गर्नुपर्ने । सत्ताको डङ्गुरमा हराएकाहरू फुटेर गाउँ पस्दा के गति होला ? गाउँ त पहिला जस्तो छैन ।
सबैको हातमा मोबाइल छ । चङ्खो भइसकेको छ गाउँ । शहरमा निसासिएका मानिसले खोजेको मुक्तिको बाटोको सपना गाउँ पसिसकेको छ । सबैलाई लागिरहेको छ, युवा जिताउनुपर्छ बूढाहरूले केहि गरेनन् ।
बूढाहरू सिंहासनदेखि द्वारसम्मै गजधम्म ओगटेर बसेका छन् । कांग्रेस होस् या कम्युनिष्ट, सबको उही गति छ । कम्युनिष्ट पद्धति, विधि, विधान सबै सकिएर कांग्रेसको बरोबरीमा पुगिसकेका छन् । क्याडर नाम मात्रको, पैसा नभई नचल्ने, चुनाव नजितिने छिमेकी बिहारी शैलीको पूर्ण अभ्यासमा पारङ्गत भइसकेका छन् सब, वडा, प्रदेशदेखि संघीय संसदसम्म ।
सबलाई कमाउनु छ । चुनावमा खर्च भएको पैसा उठाउन, फेरि चुनाव लड्नको निम्ति खर्चको बन्दोबस्त गर्न, सबै–सबै गर्न अभ्यस्त भएपछि निर्माण नहुँदै पुल भत्कन्छ । ठेकेदार पैसा लिएर भाग्छ । अग्रपंक्तिमै उभिएर कम्युनिष्टहरू बाट भइरहेको यो प्रहसन बडो घिनलाग्दो छ । उही जपिरहेछ, यो यात्रा कम्युनिष्ट समाजको लागि हो । समाजवादको लागि हो ।
यी गैरकम्युनिष्टहरूले कम्युनिष्ट पार्टी ओगटेर सिङ्गो कम्युनिष्ट आन्दोलनलाई मलमूत्र बग्ने ढल बनाइदिए । यी धूर्त बनियाँहरूले विधि, विधान, सिद्धान्त सबलाई तिलाञ्जली दिएर मुलुकमा दलाल शासन स्थापित गरे, गणतन्त्रको आडमा । पार्टी भित्रका इमान्दार, सज्जन सबैलाई किनारा लगाएर दलालहरूको हातमा पुगेपछि हुने भनेको दलाली ब्यबस्था नै हो ।
भारतीय खुफिया एजेन्सीको ठाडो योजनामा आफ्नै नागरिक दिनदहाडै मारिए पनि उसलाई मतलब छैन । उत्पादन बन्द छ । बलियाबाङ्गा तन्नेरीहरू विदेशतिर गएपछि सजिलो हुने नै भयो व्यापारीको व्यापार राज फस्टाउँन । उद्योगधन्दा कौडीका भाउमा बिक्रि भइसके ।
अहँ, कसैलाई देश दुख्दैन । हिजो कालापानी मार्च चल्थे । तिलाठी यात्रा हुन्थे । प्रधानमन्त्रीको याचनाको निम्ति नेता दिल्लीको ढोका चाहार्ने व्यवस्था नै हो त हामीले ल्याएको ? के यस्तै कम्युनिष्ट पार्टी, यस्तै नेताको आवश्यकता नै हो त मुलुकको ?
वास्तवमा हामी जनताले गतिलोसँग सोंच्नुपर्ने भएको छ । पार्टी अध्यक्षको गोटी बन्न रूचाउने राष्ट्रपति, अहङ्कारको चरम चुलीमा पुगेर संसद्कै हत्या गर्ने प्रधानमन्त्रीको गलत कदमका कारण मुलुकले यो हविगत ब्यहोर्नु परेको हो । कांग्रेसका बद्मासी त ०४८ सालदेखि नै हेर्दै आएको हो । जनताको विश्वासमाथि कम्युनिष्टहरूको खेलाची निकै महँगो पर्ने देखिएको छ ।
मंसिर ४ मा सहि निर्णय लिन नसके फेरि ५ वर्ष पछुताउनु पर्दछ । कम्युनिष्ट पार्टीको आडमा जनता लुट्ने दलालहरूलाई बेलैमा चिन्नु पर्दछ ।
र पनि हेर्नै नसकिने जात्रामा छन् नेपालका कम्युनिष्टहरू । यदुवंशीहरू विनासको बाटोमा छन् । फगत आफ्नो, आफ्ना र तिनका वरिपरिका चाकरका निम्ति काम गर्ने सेना सहितका शाह र राणाहरूको त पतन भयो । अरूको के कुरा ? विद्रोह जरैबाट शुरू भएको छ, नसुध्रिए ढिलो चांडो समाप्ति नै हुने हो । समाप्त हुने कि सुध्रने सबै आफ्नै हातमा छ ।
मेलोमेसो सुध्रने छैन । जनता कम्युनिष्टको जात्रा हेर्न अभिशप्त छ ।
–मदनपोखरा पाल्पा