Logo
Logo

प्राकृतिक र सांस्कृति पर्यटनको संगम बन्दीपुर


कृष्ण न्यौपाने

1.4k
Shares

दमौली । बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट १ हजार ३० मिटर उचाइको बन्दीपुर ।

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । जसले उपनाम पाएको छ– पहाडकी रानी ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यसपछि, मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेरेर आनन्दभूत गर्न सकिन्छ ।

बन्दीपुरबाट सुन्दर अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । त्यसैले यहाँ पुग्ने जोसुकैको मन लोभिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत यहाँ आउने पर्यटकको पहिलो रोजाइमा पर्दछन् । सूर्यास्त र स्थानीय नेवारी कला संस्कृतिसँग यहाँका थप आकर्षण हुन् ।

राज्य तहबाट बन्दीपुरको विकासमा खासै ध्यान पुगेको छैन । तर, बन्दीपुरे त्यसै बस्दैनन्, नयाँनयाँ कार्यक्रम छनोटमा लागेका छन् ।

अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यको खोजी चलिरहेको छ । पर्यटकलाई होमस्टे र सुविधा सम्पन्न होटेलको व्यवस्था गर्न स्थानीय जुटेका छन् । सुविधा सम्पन्न होटलहरू बनेका छन् ।

बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् ।

भक्तपुरे शैलीमा निर्माण गरिएका आकर्षक घर । आँखै अगाडि सेताम्मे हिमाल, बाह्रै महिना शीतल र चिसो हावापानी । मनै लोभ्याउने प्राकृतिक सौन्दर्य ।

अध्यक्ष किसन भन्छन्– ‘दुई–तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन् ।’

कोभिडको समयमा बन्दीपुरको पर्यटन सुस्तायो । बल्ल तङ्ग्रिने प्रयासमा छ । कोभिडका बेला बन्दीपुर ठप्पै थियो । विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहने यहाँ त्यसबेला विदेशी त के नेपाली पर्यटकको पनि पुग्ने कुरै भएन ।

‘कोभिडले पर्यटन व्यवसाय र यहाँका व्यवसायीलाई नराम्ररी प्रभावित बनायो । बिस्तारै तङ्ग्रिने प्रयास गरिरहेको छ । अहिले फाट्टफुट्ट मात्रै पर्यटक छन्, बिस्तारै राम्रै होला’, अध्यक्ष किसन आशावादी छन् ।

पर्यटनको सिजन सुरू भयो । अब पर्यटकको चहलपहल बढ्छ, व्यवसायी आशावादी छन् । जाडो मौसममा धेरै पर्यटक बन्दीपुर पुग्छन् ।

मौलिकताको नमुना सहर
बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको छ । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोकाहरू, प्यागोडाशैलीका घर बन्दीपुरको मुख्य आकर्षण हुन् ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले बनाएका भक्तपुरे शैलीमा घर एन्टिक घरहरू देख्न पाइन्छ । ढुङ्गा बिछ्याइएको बाटोमा हिड्न पाइन्छ । जहाँ सवासी साधान प्रयोग गर्न पाइन्न ।

बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले पर्यटकको आगमन बढ्दै गएको छ । गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

गाउँपालिकाले बन्दीपुर रिङरोडभित्र र रिङरोड बाहिर पाँच सय मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएको नियम पालना गर्नुपर्छ ।

बजार क्षेत्रमा प्राचीन कला तथा संस्कृतिको संरक्षण हुनेगरी घर निर्माण गर्दा गाउँपालिकाले नक्सापासमा ५० प्रतिशत छुट दिने गरेको छ ।

बजार क्षेत्रभित्र बनिसकेका घरको अगाडिको भाग प्राचीनशैलीमा निर्माण गर्न स्थानीयवासीलाई गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।

उपक्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैलीमा काठका झ्याल–ढोकाप पसलको कवलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभिर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गारोमा प्लाष्टर नगरी प्रष्टसँग इँटा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा स्लोप छाना हुनुपर्नेलगायतका नियम बनाइएको छ ।

कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा, स्मारक वा स्मारकको कम्पाउण्डको वरिपरिका पहिलो पङ्तिका घर स्मारक भन्दा होचो हुनेगरी निर्माण गर्नुपर्ने नियम छ ।

देशकै मध्यभागमा पर्ने, यातायातको सुविधा पुगेको र गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यका रूपमा बन्दीपुर विकास भइरहेको छ । प्रदूषण र कोलाहल नभएकाले पनि बन्दीपुरमा पर्यटक आउन रूचाउँछन् ।

सुविधा सम्पन्न होटल खुल्दै
बन्दीपुरमा पर्यटकको आगमन वृद्धि हुन थालेपछि व्यवसायीलेसमेत सुविधा सम्पन्न होटल स्थापना गरेका छन् ।

विसं २०५६ मा सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रूपमा स्वीकृति दिएपछि यस क्षेत्रमा होटल निर्माण सुरूआत भएको थियो ।

बीस वर्षे गुरूयोजना
गाउँपालिकाले बीस वर्षे गुरूयोजना तयार गरिसकेको छ । विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षलाई समेटेर गुरूयोजना बनाइएको गाउँपालिकाले जनाएको छ ।

काठमाडाँै, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरूको पनि केन्द्रको रूपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ ।

बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, सम्वद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ ।

पाँचतारे होटलसहितको केबलकार आकर्षण
बन्दीपुरमा पाँच तारे होटल सहितको केबलकार निर्माण तीव्र गतिमा भइरहेको छ । कोभिडका कारण केही समय काम प्रभावित भए पनि अहिले उक्त कामले गीत लिएको छ ।

बन्दीपुरको पर्यटनलाई थप प्रवद्र्धन गर्ने माध्यम केबलकार पनि बन्न सक्ने विश्वास गरिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको भइरहेको छ ।

(राष्ट्रिय समाचार समितिको सहयोगमा तयार पारिएको सामग्री)

प्रतिक्रिया दिनुहोस्