Logo
Logo

उज्यालो छर्ने लघुजलविद्युत् आफै अँध्यारो यात्रामा


केदार मगर

378
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघुजलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् ।

स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघुजलविद्युत् आयोजना अहिले १४ लाखभन्दा बढी ऋणमा छ ।

करिब रु दुई करोड लागतमा सञ्चालन गरिएको लघुजलविद्युत् आयोजनाका लागि ऋण लिइएको रु नौँ लाख रकम अझै फिर्ता गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष अग्नीप्रसाद राईले बताए ।

‘एक घर उपभोक्ताबाट प्रति महिना रु १०० का दरले सेवा शुल्क लिने निर्णय गरेका थियौँ’, उनले भने, ‘समितिले तोकेको सेवा शुल्क उपभोक्ताले नबुझाउदा अहिले आर्थिक सङ्कट भएको छ । उपभोक्ताबाट सेवा शुल्क नउठेपछि आयोजना नै सङ्कटमा परेको छ ।’

नाखामखोला लघुजलविद्युत् आयोजनामा अहिले तीनजना प्राविधिक कर्मचारी कार्यरत रहेका र उनीहरुलाई मासिक तलब दिनसमेत समस्या भएको उपभोक्ता समितिले जनाएको छ ।

प्राविधिक कर्मचारीका लागि मासिक तलबबापत रु छ लाख रकम भुक्तानी दिन बाँकी रहेको अध्यक्ष राईले जानकारी दिए ।

सुरुमा सबै उपभोक्ताको उल्लाशमय सहभागितामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइए पनि पछिल्लो समय हेल्चेक्र्याइँले समस्या भएको देखिएको वडाध्यक्ष मुगाधन राईले बताउँछन् ।

पटकपटक बिग्रँदै आएको उक्त नाखामखोला लघुजलविद्युत् आयोजना मर्मत गर्ने क्रममा यही भदौ १९ गते स्थानीय ३६ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको थिायो ।

श्रीमतीसहित चार सन्तानका बुबा प्रकाशको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्तिसमेत दिन नसकिएको उपभोक्ता समितिले जनाएको छ ।

विद्युत् गृह नजिक घर भएका राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गरेर सहयोग गर्दै आएकामा करेन्ट लागेर ज्यानै गुमाएको स्थानीयलाई बताएका छन् । सुरक्षाका उपाय नअपनाई अवरुद्ध विद्युत मर्मतको काम गर्दा यसअघि पनि विभिन्न समयमा प्राविधिक कर्मचारी र स्थानीय बासिन्दालाई पटक–पटक करेन्ट लाग्दै आएको छ ।

उता ऐसेलुखर्क गाउँपालिकामा तीनवटा लघुजलविद्युत् सञ्चालनमा छन् । वडा नं २ बाकाचोलमा सञ्चालित लिदिङखोला–२ लघुजलविद्युत् आयोजना ७० किलोवाट क्षमताको छ ।

दश वर्षअघि सञ्चालनमा ल्याइएको उक्त लघुजलविद्युत् आयोजनाको ऋण अहिले रु २७ लाख पुगेको उपभोक्ता समितिले जनाएको छ ।

वडा नं १ राखाबाङ्देलमा २०६९ भदौबाट सञ्चालित ७० किलोवाट क्षमताको लिदिङखोला–१ लघुजलविद्युत् आयोजनामा रु २५ लाख ऋण रहेको वडाध्यक्षसमेत रहनुभएका उपभोक्ता समितिका अध्यक्ष पुरुषोतम राजभण्डारीले बताए ।

गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नंं ३ ऐसेलुखर्कका स्थानीय बासिन्दाले सञ्चालनमा ल्याएको ९० किलोवाट क्षमताको लिदिङखोला ३ लघुजलविद्युत् आयोजनाको ऋण रु ७० लाख रहेको छ ।

केन्द्रीय प्रशारणलाइनको विद्युतसमेत सञ्चालनमा रहेको उक्त ठाउँमा सञ्चालित लघुजलविद्युत् आयोजनाको उपभोक्ता समितिले ऋण तिर्न नसकेपछि आयोजना नै बन्द गर्ने अवस्था आएको बुझिएको छ ।

आर्थिक सङ्कट झेल्दै आएका गाउँपालिकाभित्र सञ्चालित लघुजलविद्युतलाई एकीकृत गर्दै केन्द्रीय प्रशारणलाइनको विद्युतमा जोड्नेगरी पहल थालिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए ।

‘हरेक वर्ष प्राकृतिक प्रकोपले क्षति गरेपछि उपभोक्ता समितिले क्षतिपूर्तीका लागि गाउँपालिकामा निवेदन ल्याउँछ’ भनले भने, ‘गाउँपालिकाले सहयोग गर्ने स्थिति छैन । केन्द्रीय प्रशारणलाइनमा जोडियो भने उसैले हेर्ने भएकाले प्रक्रियाको बारेमा परामर्श भइरहेको छ ।’

केपिलासगढी गाउँपालिका–१ फेदीमा मात्रै चारवटा लघुजलविद्युत् आयोजना उत्पादन गरिएको थियो । अहिले तीनवटा सञ्चालनमा रहेका छन् भने, एउटा उत्पादन गरेर सञ्चालनमा ल्याएको केही महिनापछि नै पहिरोले बगाएर अलपत्र छ ।

ब्रिटिस गोर्खा वेलफेयर खोटाङको रु एक करोड २५ लाख लगानी तथा उपभोक्ताको श्रमदानमा उत्पादन गरिएको ३६ किलोवाट क्षमताको पञ्चमी–छमुवाखोला लघुजलविद्युत् आयोजना पहिरोले बगाउँदा एकजना प्राविधिक कर्मचारीको ज्यानसमेत गएको थियो ।

फेदीमा स्थानीय बासिन्दाको चन्दा सङ्कलन तथा दातृ निकायको सहयोगमा ४० किलोवाटको नोक्ती–तापखोला जलविद्युत् आयोजना, ३९ किलोवाटको स्वाँरा–तापखोला जलविद्युत् आयोजना र २४ किलोवाटको छमुवाखोला जलविद्युत् आयोजना हाल सञ्चालनमा छन् ।

करिब ६२५ घरधुरीले उपभोग गर्दै आएका यी तीनवटै लघुजलविद्युत् आयोजनामा आर्थिक सङ्कट रहेको वडाध्यक्ष नीरकुमार राईले बताए ।

सस्तो, भरपर्दो र स्थानीयवासीलाई रोजगारीको बन्दोबस्तसमेत हुने अपेक्षासहित जिल्लामा करिब तीन दर्जन लघुजलविद्युत् आयोजना सञ्चालन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित लघुजलविद्युत् आयोजनामा अहिले आर्थिक सङ्कट देखिएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

विसं २०५७ मा दिक्तेल बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको लामो समयसम्म जिल्लाका अधिकांश ठाउँमा विस्तार नभएपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्त लघुजलविद्युत् आयोजना सञ्चालन गरेका थिए । शुरुमा लघुजलविद्युत् उत्पादनमा हौसिएका स्थानीय बासिन्दा अहिले आर्थिक सङ्कट पर्दै गएपछि निराश बनेका छन् ।
लघुजलविद्युतमा आर्थिक सङ्कट पर्न थालेसँगै जिल्लामा सञ्चालित सबै लघुजलविद्युत् आयोजनाहरुलाई एकीकृत गर्दै केन्द्रीय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ २०७० सालमा केपिलासगढी गाउँपालिका–१ फेदीका तत्कालीन वडाध्यक्षसमेत रहेका वीरबहादुर तामाङको अध्यक्षतामा ‘लघुजलविद्युत् उपभोक्ता जिल्ला महासङ्घ खोटाङ’ गठन गरिएको थियो । उक्त महासङ्घ अहिले निष्क्रिय छ ।

कानूनी झन्जटका कारण जिल्लामा सञ्चालित लघुजलविद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने काम गर्न नसकिएको अध्यक्ष तामाङले बताए । ‘अहिले जिल्लामा मात्र नभई देशभर सञ्चालित लघुजलविद्युत् आयोजनाहरु आर्थिक सङ्कटमा छन्’ उनले भने– ‘आर्थिक सङ्कटकै कारण अधिकांश लघुजलविद्युतहरु बन्द हुने अवस्थामा छन् । यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।’

जिल्लामा उत्पादित १०० किलोवाट क्षमतासम्मको साना जलविद्युत् आयोजनाहरु केन्द्रीय प्रशारण लाइनमा जोड्न जिल्लामै सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन सकिने नेपाल विद्युत प्राधिकरण, दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख विजयराज रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्