Logo
Logo

पाहुनाको पर्खाइमा हेरिरहूँ लाग्ने रित्तिएको भुकगाउँ


1.3k
Shares

पर्वत । पर्वतमा एउटा यस्तो सुन्दर गाउँ छ, जहाँ एकनासले बनाइएका घरका लहर हेर्दा आँखा झिम्काउनै मन लाग्दैन । रहर लाग्दा घरका वस्तीमा पुगेपछि मन फर्कँनै मान्दैन ।
पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा पर्ने भुकदेउराली, जहाँ गुरुङ समुदायको बाक्लो बसोबास छ । उक्त सुन्दर गाउँमा पुग्ने जोकोहीको मन रोमाञ्चित हुन्छ ।
प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । त्यही रङले भुकगाउँ चिनाएको छ र टाढैबाट उक्त गाउँलाई नियाल्न सकिन्छ ।
वस्तीमा करिब दुई सय घरहरु छन् । तर, विडम्बना, तीमध्ये आधाभन्दा बढी घरका ढोकामा लगाइएका ताल्चा नखुलेको वर्षांै भइसक्यो । यसोभन्दा सुन्नेलाई आश्चार्य लाग्न सक्छ ।
तर, हो, देशमा सशस्त्र द्वन्द्व सुरु हुनअघिसम्म गाउँको बैग्लै रौनक थियो । घरमुली कमाउन विदेशिएपनि परिवार गाउँमै रमाउँथे । तर, अहिले ती दिनहरु गाउँलेका लागि सम्झनामा मात्रै सीमित छ ।
‘पहिले त गाउँ कम्ता रमाइलो थिएन नि’, स्थानीय डिलकुमारी गुरुङले विगत सम्झिँदै भनिन्, ‘पहिले टाढाटाढाबाट घुम्नका लागि अहिलेजस्तै मान्छेहरु आउने गर्थे, उनीहरु एक दिनमात्रै घुम्न भनेर आएपनि चार पाँच दिन बसेर जान्थे । किनभने यहाँ आएका मानिसले हाम्रो गाउँ मन पराएर छोड्नै मान्दैनन् ।’
उनी जन्मेहुर्केको माइती घर पनि आफ्नो घरदेखि केही मिनेटकै दूरीमा छ । उनको बाल्यकालका दिनहरु गाउँमै बिते । अहिले पनि उनलाई आफ्नै गाउँ प्यारो लाग्छ । उनका दुई छोरामध्ये एउटा बेलायती सेनामा र अर्का पोर्चुगलमा छन् । पोर्चुगलको छोरा सपरिवार उतै रहेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘छोराहरुले गाउँमा दुःख नगर्नु पोखरा गएर बस्नु भन्याभनै गर्छन् । बुढाले सहर गएर बस्न मनै पराउँदैनन्, कहिलेकाहीँ गइहाले पनि उतिनै बेला फर्किहाल्छन्, कहाँको सधैँका लागि बस्न सकिन्थ्यो र ?’
अवसर र बाध्यताले विदेशमा रहेका देउरालीवासीको मन गाउँकै पाखा, पखेरा र गोरेटोमा घुमिरहेको छ । नमूना गाउँ बनाउने अभियानमा विदेशबाट आर्थिक सहयोग मात्र होइन, सपना पनि बाँड्ने गरेका छन् उनीहरु ।
गाउँको विकासका लागि विभिन्न क्षेत्रमा निःस्वार्थ भावनाले लगानी गर्दै आएका यस गाउँका अधिकांश युवा बेलायत, हङकङलगायत युरोपका देशमा छन् ।
‘वडाले गाउँको विकासका लागि खर्च गर्ने रकमको पाँच गुणा बढी रकम विदेशमा बस्ने भुकदेउरालीवासीले गर्दै आएका छन् । निर्वतमान वडाध्यक्ष गौप्रसाद गुरुङका अनुसार रातमा गाउँ पूरै झलमल देखिन्छ, ठाउँठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ । खेलकुद मैदान बनाइएको छ, स्वास्थ्यचौकी निर्माण गरिएको छ ।
विदेश र सहरमा बस्ने देउरालीवासी मिलेर गाउँमा सहकारीमार्फत अलैँची खेतीको सुरुआत गरिएको छ । ‘घर छाडेर बाहिरिएकाहरुकोे बाँझो जमिन दश वर्षको लागि भाडामा लिएर अलैँची खेती गर्न थालिएको गुरुङले बताउँछन् । ताङ्ले, लप्सीबोट, भमरकोट हुँदै म्याग्दीको घोडेपानी जोड्ने काम भइरहेको हुँदा यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।
बाजा बजाउने दलित समुदायको संस्कृति जोगाउन पनि विदेशमा बस्ने स्थानीयवासीले सहयोग गर्दै आएका छन् । ‘हामीलाई चाहिने बाजा, पोसाक र समाजघर निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ’, बाजा बजाउँदै आएका भुकदेउराली नौमती बाजा समूहका सदस्य डिलप्रसाद परियारले सुनाए ।
उनले भने, ‘हामी बाजा बजाउन अन्यत्र धेरै ठाउँमा पनि जाने गरेका छौँ, त्यहाँबाट आउने केही पैसा हामीले राख्छौँ भने बाँकी समाज घरमा राख्ने गरेका छौँ ।’
भुकदेउरालीका १० घरमा पाहुना घर सञ्चालन गरिएको छ । रित्तिएको गाउँमा बाहिरबाट पाहुना आउँदा सिँगो गाउँ नै खुसी हुन्छ । बाजागाजासहित पुरै गाउँले मिलेर फूलमालाले सम्मानसहित पाहुना घरसम्म पु¥याउने गर्छन् ।
‘गाउँमा मान्छेहरु बस्न छाडिसके’, पाहुना घरकी सञ्चालिका पूर्णिमा गुरुङले भनिन्, ‘तपाईंहरु पाहुना भएर आउँदा ज्यादै खुसी लाग्छ, सधँै गाउँमै बसिदिए हुन्थ्योझैँ लाग्छ ।’
यस एक दिनका लागि आउने पाहुनालाई घरकै सदस्य जसरी गरिने व्यवहारले गहिरो आत्मीयता दर्शाउँछ । पाहुना घरका कारण रित्तिएको आफ्नोे गाउँ फेरि भरिनेमा उनीहरु आशावादी छन् ।
‘देशमा संकटपछि गाउँ पूरै खाली भयो’ भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङ भन्छन्, ‘अहिले तीनचार घरका फर्किसक्नुभएको छ, एकदिन सबैजना गाउँमै फर्कनुहोला भन्ने विश्वास छ ।’
कुश्मा, बागलुङ, पोखरादेखि मात्र नभएर काठमाडौँलगायत टाढाका जिल्लाबाट पनि पाहुना घरमा पर्यटक आउने गर्छन् । पछिल्ला दिनमा त चलचित्रदेखि विभिन्न गीतको छायाँकन गर्नसमेत चलचित्रकर्मीहरु यहाँ आउने गरेका छन् ।
गाउँमा आउने पाहुनाका लागि स्थानीयरुपमै उत्पादन भएका अर्गानिक खानाका परिकारजस्तै कोदोको सेलरोटी, कोदोको ढिँडो र कोदोको सुख्खा रोटी, भुटेको मकै, भटमास, गुन्द्रुकको अचार, स्थानीय जातका दाल, लोकल कुखुराको मासुलगायतका खाना तयार हुन्छन् ।
‘यस ठाउँ साँच्चिकै नमूना रहेछ’, कुश्माबाट घुम्न पुगेका विजय चापागाईं भन्छन्, ‘प्राकृतिक सुन्दरता त छँदैछ, त्यसका अतिरिक्त गाउँलेले पाहुनालाई देखाउने आत्मीयता, सफासुग्घर घरआँगन र झलमल बल्ने गाउँले मेरो ध्यानै खिचिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्