Logo
Logo

घनश्याम भुसालले पनि टिकट नपाउने निश्चित


6.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पनि प्रतिनिधिसभाको उम्मेदवारको टिकट नपाउने निश्चित भएको छ । अध्यक्ष ‌केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका भुसालले अघिल्लो पटक जितेको रुपन्देही ३ एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ ।

शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुवै पार्टीबीच भएको वार्तामा ३ वटा निर्वाचन क्षेत्रको टुंगो लागेको स्रोतले जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सीट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् । एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो ।

एमालेले दश बुँदे गरी एमालेमै बसेका पूर्वउपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री भीम रावललाई पनि टिकट दिएको छैन । गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा रावल, भुसाल र भीम आचार्यले ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।

अध्यक्ष ओलीले संसद् विघटनका बेला र पार्टीभित्र आफ्नो कार्यशैलीको विरोध गर्ने नेताहरूलाई पेल्ने नीति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्