काठमाडौं, १ भदौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ७० हजार ७०० कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको महासंघले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो ।
यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ । रासस