Logo
Logo

ओलीले भीम रावलको टिकट खोसे, अछाममा विद्रोहको तयारी


12.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा आफूविरुद्ध अध्यक्ष पदको उम्मेदवार बनेका भीम रावलको टिकट खोसेका छन् । 

अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर ओलीले माओवादीबाट आएका झपड बोहरालाई टिकट दिएका छन् ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलको टिकट अध्यक्ष ओलीले खोसेपछि एमाले अछाममा विद्रोह हुने खतरा बढेको छ । 

एकल सिफारिसमा परेका नेता रावललाई टिकट नदिएपछि एमालेका क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् । आफ्नो कमिटीले गरेको निर्णय केन्द्रले कार्यान्वयन नगरेको प्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

रावललाई टिकट नदिइए पछि अछाम–१ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरूले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

केन्द्रको निर्णयविरुद्ध आज दिउँसो १२ बजे रावलनिकट नेताहरूले अछाममा भेला बोलाएका छन् । उक्त भेलामार्फत सामूहिक राजीनामा दिने तयारी रहेको बुझिन्छ ।

एमाले एक हुँदा माधवकुमार नेपाल पक्षमा रहँदै आएका रावल पार्टी विभाजन हुने क्रममा १० बुँदे सहमति गर्दै एमालेमै बसेका हुन् । 

एमालेमै रहेपछि चितवनमा सम्पन्न १०औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार बनेका थिए । सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा त्यो समय रावल वाधक बनेका थिए । त्यसैको रिस फेर्न ओलीले रावलको टिकट खोसेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्