Logo
Logo

दलभित्र तिव्र असन्तुष्टि, बागी उम्मेदवारको बिगबिगी


14k
Shares

काठमाडौं । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने संघ तथा तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए ।

एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यस्तै एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका नेतालाई एमालेले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शान्ता चौधरीले उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सिंहले सर्लाही क्षेत्र ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ ।

कांग्रेसका अर्का नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा महलिा संघ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्