काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) दिवेश लोहनीलाई केन्द्रीय निर्वाचन सेलको कमाण्डरको जिम्मेवारी दिएको छ । यसअघि निर्वाचन सेलको नेतृत्व गरेका एआइजी सहकुल थापाको प्रहरी एकेडेमी सरुवा भएपछि डिआइजी बसन्तबहादुर कुँवरले निमित्त विभागीय प्रमुखका रुपमा सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।
चुनावी सेल नै निमित्तको भरमा चल्दा समस्या भएपछि अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी लोहनीलाई आइतबारदेखि सो जिम्मेवारी दिइएको हो । उनलाई कार्य विभाग समेत हेर्ने जिम्मेवारी दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए ।
प्रहरीमा हाल एआइजीका दुई दरबन्दी रिक्त छन् । कार्य विभाग र प्रदेश समन्वय विभागमा एआइजीको दरबन्दी रिक्त छ । कात्तिक महिनामा थप दुई एआइजीले अवकाश पाउँदैछन् । रिक्त पदमा निर्वाचनपछि मात्र बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको योजना छ ।