बारा । कुनै समय तेस्रो देशबाट आउने नक्कली नोट नेपाल हुँदै भारत जान्थ्यो । अहिले भारतबाट नेपालमा नक्कली नेपाली रुपैयाँको कारोबार फस्टाएको छ ।
बारा प्रहरीले नौ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो। एकैपटक बरामद भएको यो अहिलेसम्मकै धेरै नक्कली नेपाली नोट हो ।
नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
एसपी बोगटीका अनुसार असोज २१ रंजितले सिम्रौनगढ नगरपालिका– ५ कनकपुरस्थित एसपी साइन मोटरसाइकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए। उनीहरू विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएको गिरोह नै रहेको बताए । उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ इलाकाबाट नक्कली नोटको कारोबार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए । नक्कली नोटको कारोबार यसरी ह्वात्तै बढेपछि नेपालमा ठूलो समस्या निम्त्याउने जोखिम देखिएको छ ।