Logo
Logo

ओलीको दु:खेसो : प्रभु साहले मधेसमा एमालेलाई समाप्त पार्ने षडयन्त्र गरे


12.9k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता प्रभु साहले मधेसमा एमालेलाई समाप्त पार्ने षडयन्त्र गरेको बताएका छन् । एमालेसँग टिकट लिएका साहले रौतहटमा स्वतन्त्र उम्मेदवार दिएका छन् भने मधेसका धेरै ठाउँमा आफु निकटलाई उठाएका छन् ।


एमालेका पोलिटब्यूरो नेता साहले संदीग्ध गतिविधि गरेको समेत ओलीको आरोप छ । पत्रकार ऋषि धमलासँग प्राइम टेलिभिजनको अन्तर्वातामा उनले भनेका छन्,‘उहाँले षडयन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिदैछु भन्नुभयो, मसँगै कुरा भएको थियो, म उम्मेदवारी दिदैछु दिदैछु भन्नुभयो, तर ५ बजे वारिस पठाएर स्वतन्त्र ढंगले गर्नुभयो भने त्यो त धोका भयो । बेइमानी भयो । उहाँ अलि लामो समयदेखि संदिग्ध गतिविधि गरिरहनुभएको थियो पार्टीभित्र । उहाँका भेटघाट, हिमचिमहरु अलि संदिग्ध खालका थिए पार्टीमा, त्यस्ता रिपोर्टहरु पनि आइरहेका थिए, तर मैले त्यस्ता रिपोर्टलाई त्यती विश्वास गरेको थिइन, तर हिजो उहाँको तरिका देखेपछि जे रिपोर्टहरु आएका थिए, ती सही रहेछन् । उहाँ पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो, पार्टीभित्र अत्याधिक टिकट कब्जामा राख्ने कोसिसमा हुनुहुन्थ्यो, राख्नुपनि भयो । तर कतिपय मानिसहरुले उहाँले हामीहरुलाई टिकट दिनुहुन्न, उहाँको नियत खराब छ, हाम्रो नाममा छुट्दै उम्मेदवारी पठाइदिनुस् भन्नुभयो, उहाँहरुले दर्ता गर्नुभयो अन्य क्षेत्रहरुमा । तर, उहाँ(प्रभु साह) त सिगो जिल्ला नै एमाले खाली गराइदिने षड्यन्त्रमा हुनुहुँदो रहेछ, कोसँग मिल्नुभएको थियो, कसको योजनाको अंगको रुपमा काम गर्नुभएको थियो, त्यो उहाँले जान्ने हो । उहाँले एमालेले जिल्ला नै खालि गराइदिने, भरसक प्रदेश नै खाली गराइदिने, प्रदेशको नै म लिएर जान्छु भन्नुभएको थियो ।’


पहिलो माओवादीमा सक्रिय साह नेकपा विभाजनपछि एमालेमा लागेका थिए । पछिल्लो समय उनी एमालेभित्र खुशी थिएनन् । मधेसभित्र आफ्नो छुट्टै शक्ति बनाउने प्रयासमा साह लागेका छन् । जसबाट एमालेलाई चुनावमा धक्का लागेको छ । मधेसमा एमाले र जसपाको तालमेल छ । जसपाले सिट पाएको ठाउँमा उनले आफ्ना निकटलाई उम्मेदवारी दिन लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्