Logo
Logo
दाङ–१

गंगाका कारण शान्तालाई सकस, मेटमणीको यात्रा सहज


61.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दाङ–१ मा नेकपा एमालेबाट शान्ता चौधरी आधिकारिक उम्मेदवार हुन् । तर, शान्तको विजय लक्ष्यमा गंगा चौधरी सत्गौवा बाधक बन्ने निश्चित भएको छ ।

शान्ता र गंगाको निर्वाचन क्षेत्र एउटै हो । र, दुबै नेकपा एमालेका नेता हुन् । त्यति मात्र होइन, गंगा र शान्ता दुबै निर्वतमान प्रतिनिधिसभा सदस्य समेत हुन् ।

यसपटक एमालेले शान्तालाई प्रतिनिधिसभा सदस्यका लागि टिकट दियो । अघिल्लो निर्वाचनमा समानुपातिक सांसद बनेका गंगाले यसपटक टिकट पाएनन् ।

पार्टीले टिकट नदिएपछि गंगाले एमाले परित्याग गरेर स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गएका छन् । यस कारण शान्ताको विजयी लक्ष्यमा गंगा बाधक बन्ने निश्चित भएको हो ।

शान्ताले सत्तारुढ गठबन्धनबाट उस्तै बलियो उम्मेदवार पाएका छन् । गठबन्धनले नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीलाई उम्मेदवार बनाएको छ । मेटमणी यस क्षेत्रमा शान्त र गंगाभन्दा बलियो जनआधार बनाएका नेता हुन् ।

गंगाको उम्मेदवारी शान्ताका लागि बाधक भए पनि मेटमणीका लागि राम्रै हुने देखिन्छ । किनकी, गंगाले पाउने मत एमालेकै मत हुनेछ । एमालेको मत शान्त र गंगामा विभाजित हुँदा मेटमणीलाई जितका लागि सहज हुने सहजै बुझ्न सकिन्छ ।

त्यसै पनि गठबन्धन बलियो
स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा पनि दाङ–१ मा एमाले कांग्रेसभन्दा कमजोर पार्टी हो । त्यसमा माओवादी र एकीकृत समाजवादीको मत जोड्दा एमाले झनै कमजोर देखिन्छ ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतका आधारमा एमाले धेरै नै कमजोर देखिन्छ । 

कांग्रेसका उम्मेदवारहरूले २९ हजार ७५७ मत पाएका थिए । त्यसैगरी, माओवादी केन्द्रका उम्मेदवारहरूले १९ हजार २७६ र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले २ हजार ५९६ मत पाएका थिए भने एमालेका उम्मेदवारहरूले २७ हजार २५ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारले ५१ हजार ६ सय २९ मत पाएका छन् । गठबन्धनको मत एमालेले पाएको भन्दा झण्डै दोब्बर मत हो ।

एमालेका सबै मत शान्ताले नपाउने !
स्थानीय तह निर्वाचनका आधारमा दाङ–१ मा एमाले २७ हजार २५ मत पाएको हो । तर, प्रतिनिधिसभा निर्वाचनमा एमालेको यो सबै मत शान्ताले पाउने निश्चित छैन ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका गंगाले ५ देखि ७ हजार मत काट्ने स्थानीय एमाले नेता कार्यकर्ताको आँकलन छ । यस्तो अवस्थामा शान्तालाई जितका लागि सहज देखिन्न ।

दाङ–१ को रमाइलो फ्याक्टर
मेटमणी, शान्ता र गंगा वर्ष अगाडिसम्म एउटै पार्टीका नेता थिए । यी तीनै नेता नेकपा एमालेका यस क्षेत्रबाट स्थापित नेता हुन् ।

गत वर्ष नेकपा एमाले विभाजन हुँदा मेटमणीले माधवकुमार नेपाललाई सथ दिएर नेकपा एकीकृत समाजवादी पार्टी रोजे । शान्त र गंगाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो साथ दिए । 

राजनीतिमा शान्ता र गंगाभन्दा मेटमणी केही अग्रज हुन् । तर, एकै क्षेत्र र एकै समुदायबाट उदाएका यी तीन नेताबीच यसपटक रोचक प्रतिस्पर्धा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्