Logo
Logo

असइ हत्या घटनाको छानबिनमा एआइजीको नेतृत्वमा समिति गठन


4.5k
Shares


काठमाडौं । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका असइ सत्यनारायण यादबको हत्या घटनाको विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक(एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन गरेको छ । प्रारम्भिक अनुसन्धानमा सगठनभित्रैबाट हत्या भएको खुलेपछि उच्चस्तरीय छानबिन समिति बनेको हो ।


घटनाको विषयमा बुझ्न एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए ।


सप्तरीको सीमा क्षेत्रमा कार्यरत असइ यादबको शव एक साताअघि भारतमा भेटिएको थियो । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो । उनको हत्या आशंकामा प्रहरीले सप्तरीमै कार्यरत जवान होमबहादुर खत्री पक्राउ परेका छन् । उनकै योजनामा असइको हत्या भएको प्रहरी आँकलन छ । सो घटनापछि सप्तरीका एसपी प्रदीप खड्कालाई सशस्त्र प्रहरी मुख्यालयले जिम्मेवारीबाट हटाइसकेको छ । घटनामा एसपी खड्काको भुमिका शंकास्पद देखिएको छ भने प्रदेशका सशस्त्रका डिआइजीले समेत राम्रो कमाण्ड गर्न नसकेको विषयमा गृह मन्त्रालयमा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्