Logo
Logo

नेम्बाङलाई स्थानीयकाे प्रश्न- मन्त्री हुँदा सडक किन पिच नगरेकाे ?


2.6k
Shares

फिदिम । राँके–रवि–भेडेटार सडकमा वर्षौंदेखि यात्रुले सास्ती ब्यहोर्नुपरिरहेको छ ।

आफ्नै जिल्लाले मन्त्री पाएर पनि सडक नबनाएको भन्दै पूर्वमन्त्री बसन्त नेम्बाङप्रति स्थानीय आक्रोशीत छन् । ‘खै ! कुन नेताले पीच गर्छ यो बाटो ?’ हांगुमकी जुनु राईले आक्रोश पोखिन्,’ जिम्मेवारीमा हुँदा काम नगर्ने नेताहरु यही सडकलाई चुनाबी एजेण्डा बनाएर भोट माग्न लजाएका छैनन् ।’

सडक कालोपत्रे गराउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व नेकपा एमालेका नेता वसन्तकुमार नेम्बाङले २० महिना सम्हाले । सडक भने कालोपत्रे भएन । तर, मंसिर ४ हुने प्रतिनिधिसभा चुनावका लागि आइतबार एमालेबाट उम्मेदवारी दर्ता गराउनुअघि नेम्बाङले उक्त सडक कालोपत्रे नहुनुको दोष ठेकेदार कम्पनीलाई लगाएर पन्छिए ।

‘राँके–रवि–भेडेटार १०१ किलोमिटर सडक हामीले नै निर्माण सुरु गर्यौं,’ नेम्बाङले भने ‘तर, निर्माण व्यवसायीले कालोपत्रे गर्न ढिला गरेका कारणले सडकले पूर्णता पाउन बाँकी छ ।’ २०७४ सालको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको तर्फबाट उम्मेद्धार बन्दा सार्वजनिक गरेको घोषणापत्रमा पनि नेम्बाङले चुनाव जिते उक्त सडक कालोपत्रे गर्ने एजेन्डा समावेश गरेका थिए ।

२०७५ सालमा उनी आबद्ध दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कालोपत्रेका लागि उक्त सडकको शिलान्यास रविमा भयो । त्यसबेला तीन वर्षमा कालोपत्रे बन्ने नेम्बाङले मात्र होइन, प्रधानमन्त्री ओलीले समेत आश्वासन दिएका थिए । तर, ४ बर्षमा पनि १ मिटर पनि सडक कालोपत्रे भएको छैन ।

२० महिना बिभागीय मन्त्री भएर पनि आफ्नै निर्वाचन क्षेत्रको सडकका लागि ठेक्केदारलाई काम लगाउन नसकेका उनै नेम्बाङले अधुरा कामलाई पूर्णता दिन भन्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्धार बनेका छन् । भारतीय ठेकेदार कम्पनी एफ्को इन्फ्राकोलाई काम गराएर कालोपत्रे गराउन २० महिना मन्त्री हुँदा पनि नेम्बाङले सकेनन् ।

जसले गर्दा राँके–रवि–भेडेटार सडक यात्रा गर्नै समस्या हुने गरी सुख्खा याममा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्