काठमाडौं । शान्ति मिसनमा एफपियु खटाउने तयारीको निरीक्षणका लागि संयुक्त राष्ट्र संघको टोली नेपाल आएको छ । सशस्त्र प्रहरीको एफपियु खटाउने निश्चित भइसकेपनि नेपाल प्रहरीको भने टुंगो लागेको छैन । नेपाल प्रहरीले पनि आफ्नो तयारी गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालयले एफपियू मिसनका लागि यसरी आवश्यक बन्दोबस्तीका सामानको तयारी गरिरहेको । शान्ति मिसनमा सहभागिता घटिरहेका वेला नेपाल प्रहरीले फम्र्ड पुलिस युनिट (एफपियू) पठाउन राष्ट्रसंघमा लबिङ गरिरहेको छ ।
प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार माली शान्ति मिसनमा एफपियू पठाउने विषयमा छलफल भइरहेको छ । ‘माली मिसनमा एफपियु पठाउने हाम्रो प्रयास छ,’ उनले भने, ‘त्यसका लागि बन्दोबस्तीका सामानको व्यवस्थापन भइरहेको छ ।’ नेपाल प्रहरीको हाइटी र डार्फर दुवै एफपियू मिसन बन्द भइसकेका छन् । एफपियू बन्द हुँदा शान्ति मिसनमा खटिने अवसर प्रहरी कर्मचारीका लागि कम हुँदै गएको छ । पुराना एपिसीको मर्मत गरी, गाडी र डब्बा समेत मर्मत र रंगरोगन गर्ने काम भइरहेको छ ।
सशस्त्रको एफपियू खटिने निश्चित
मालीमा सशस्त्र प्रहरी बलबाट आगामी जनवरीदेखि एफपियू टोली खटिने निश्चित भइसकेको छ । त्यसैको पूर्व तैनाथी निरीक्षणका लागि राष्ट्रसंघीय टोली शनिबार नेपाल आउन लागेको हो । त्यही वेला नेपाल प्रहरीबाट पनि भइरहेको तयारीबारे सो टोलीले जानकारी लिन लागेको हो । राष्ट्रसंघीय अधिकारीहरूले यसबारे सकारात्मक जवाफ दिए पनि नेपाल प्रहरीबाट एफपियू लिने–नलिने टुंगो लागिसकेको छैन ।
सशस्त्र प्रहरीको भने मालीमा दोस्रो एफपियू खटिनेछन् । हाल दक्षिण सुडानमा एक एफपियू खटिएको छ । राष्ट्रसंघले मालीको किदाल क्षेत्रमा सशस्त्रको एफपियू खटाउने सरकारले स्वीकृति दिइसकेको छ । त्यसका लागि तयारी धमाधम भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।
सन् २०२३ को जनवरीदेखि सशस्त्र प्रहरी किदालमा खटिनेछ । सशस्त्र प्रहरीको एक टोलीले त्यहाँ पुगेर निरीक्षण गरिसकेको छ । सो मिसनमा सशस्त्रका एक सय ४० जना खटिनेछन् । मिसनका लागि आवश्यक हतियारदेखि बुलेटप्रुफ गाडीसम्म खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।