Logo
Logo

कीर्तिमानी चौधरी भन्छन् : सपना बोकेर आएको थिएँ, असाध्यै खुसी छु


3.8k
Shares

कास्की । बर्दियाका २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गरे ।

जिल्लामा राम्रो गरेपछि उनी विभागीय टोलीको नजरमा परे । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो । विभागीय टोलीमा रहेर खेलकुदमा केन्द्रित भएर लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।

पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला १०० मिटर दौडमा यसअघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जितेपछि उनी असाध्यै खुशी छन् ।

सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उनको खेल जीवनमा उत्साह थपिएको छ । यसअघि हिटमा लुम्बिनी प्रदेशका निशा चौधरीले १२ दशमलव १५ सेकेण्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोडे । निशाले निर्धारित दूरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाएका थिए ।

यसअघि देवीमाया पनेरुको नाममा रहेको १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२ दशमलव १५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएका थिए । यसअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उहाँले स्वर्ण पदक हासिल गरेका थिए । त्यसबेला उनले १२ दशमलव १९ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । आठौँदेखि नै उहाँको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो तर उहाँ ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिँ नसोचेको बताउछन् ।

उनले भने, ‘जिल्लास्तरीय खेल्दादेखि नै सबैले तिमीले राम्रो गर्छौ, भन्नुहुन्थ्यो, आफूलाई कमजोर सोचेको थिइनँ । राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएको हुँ । सक्छु कि सक्दिन भनेर मनमा लागिरहन्थ्यो । कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।’

चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउछन् । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उनले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताए ।

‘जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द्र गुरुले ल्याउनुभयो । पछि आर्मीमा जोइन भएपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलेँ’, चौधरीले भने । उनी विसं २०७४ देखि विभागीय नेपाली सेनामा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्