Logo
Logo

ताप्लेजुङमा एमाले किल्ला भत्काउलान् खगेनसिंले ?


35.8k
Shares

ताप्लेजुङ । प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको प्रदेश (ख) यतिबेला चर्चामा छ ।

एमाले सचिव योगेश भट्टराई स्वयम् प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर पनि प्रदेशको चुनाव किन चर्चामा छ त ? यसको विषेश कारण छ । त्यो हो, यहाँ एमालेको ३ दशकदेखिको विरासत कायम रहन्छ त भन्ने सर्वत्र चासो ।

त्यसैले सत्ता गठबन्धनका कांग्रेसका खगेनसिं हाङ्गाम र एमालेका गोपाल थोप्राबीचको भिडन्त बहुप्रतिक्षित बनेको छ ।बहुदलपछिका हरेक निर्वाचन जित्दै आएको एमाले यसपटक पनि त्यसलाई निरन्तरता दिनेमा ढुक्क छ । कांग्रेस भने गठबन्धनको बलमा एमाले किल्ला भत्काउने दाउमा ।

यो क्षेत्रमा २०४८ र २०५१ सालमा अम्बिका साँवा, २०५६ सालमा ओमप्रकाश ओझा तथा २०६४ र २०७० मा डम्बरध्वज तुम्बाहाम्फे तथा २०७४ सालमा टंक आङवुहाङ निर्वाचित भएका थिए । सबै एमाले नेता हुन् । स्थानीय तह निर्वाचनको परिणाम र पछिल्लो घटनाक्रमले गठबन्धन उत्साही छ । यो क्षेत्रमा पर्ने ५ पालिकामध्ये गठबन्धनले ४ र एमालेले एउटा मात्रै जितेको छ ।

यही कारण आफूहरु निकै बलियो रहेको गठबन्धनको बुझाई छ । बैसाखमा भएको निर्वाचनमा यहाँ गठबन्धन र एमाले दुवैतर्फका वडाध्यक्षका उम्मेदवारले पाएको मत ११ हजार ५ सय हाराहारी छ । त्यसैले दुवैको ढुक्क हुने अवस्था भने देखिदैन । वर्षौंदेखि जित्दै आएको मैवाखोला गाउँपालिकासमेत गुमाएका कारण एमाले निकै कमजोर भएको एक माओवादी नेताले बताए ।

‘अब प्रदेश (ख) मा एमाले पहिलेको जस्तो बलियो छैन । यहाँका जनताले वर्षौंसम्म जिताए । तर, गाउँको विकास भएन,’ उनी भन्छन्, ‘त्यसैले जनताको मन फेरिएको छ ।’ कांग्रेस उम्मेदवार खगेनसिं युवा र जनतामाझ नयाँ अनुहार हुन् । हाल कांग्रेसको क्षेत्रीय सभापति रहेका उनी तरुण तलको जिल्ला अध्यक्षसमेत हुन् । युवादेखि वृद्धसँगसमेत परिचित छन् ।

यो क्षेत्रमा पछिल्लो समय कांग्रेस र माओवादीको संगठन सुदृढ हुँदै गएको, एमालेमा टिक वितरणमा भएको असन्तुष्टि र एमाले फुटेर बनेको एकीकृत समाजवादीको समेत राम्रो प्रभाव रहेकाले जित निश्चित रहेको गठबन्धन बुझाइ छ । एमालेले जिल्ला सहसचिव तथा युवामाझ लोकप्रिय नेता मणीसंकर पोमुको टिकट खोसेर अन्तिम समयमा गोपाललाई दिएको थियो ।

यता एमालेले भने आफ्नो बलियो संगठनलाई नै जितको आधार मानेको छ । एमाले उम्मेदवार गोपाल पुराना नेता हुन् । जिल्लामा सालिन नेताको छवी छ । तर, पछिल्लो समय युवा र विकासमा स्पष्ट भिजन भएको उम्मेदवारको खोजि भएकाले खगेनसिंको पल्ला भारी हुने कांग्रेसका युवा नेता हर्क लिम्बुले बताए ।

‘युवा र सम्भावना बोकेको नेता भएकाले खगेनसिंले केही गर्छ की भन्ने अपेक्षा जनतामा छ,’ उनले भने, ‘उसको केन्द्रसम्म राम्रो पहुँच छ । केन्द्र र प्रदेशमा टेबुल कुर्सी ठोकेर भएपनि विकासका योजना ल्याउन सक्छ ।’ ताप्लेजुङबाट प्रतिनिधिसभामा एमाले सचिव भट्टराईसँग माओवादीका प्रदेश सदस्य खेलप्रसाद बुढाक्षेत्री पराग उम्मेदवार छन् ।

प्रदेश (क) मा एमालेका तिलकुमार मेन्याङवो र एकीकृत समाजवादीका खेम वनेमबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्