Logo
Logo

देशलाई पदक दिलाउने जयरानीको लक्ष्य


693
Shares

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।

नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४:१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पार्न सफलमात्र नभई तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् ।

थारुले गएको असारमा काठमाडौंमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७:०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन् । जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताइन् ।

आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताउछिन् । उनले भनिन्, ‘कीर्तिमान सुधार गर्दा धेरै नै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।’

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भनिन्, ‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।’ जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन् । त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन् ।

सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन् । आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय भएकी जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो ।

प्रतिक्रिया दिनुहोस्