काठमाडौं । इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । कात्तिक १ गतेदेखि ४ गतेसम्म इन्टरपोलको ९०औं महासभामा नयाँदिल्लीमा हुँदैछ ।
सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, प्रहरी निरीक्षक यम कुमार श्रेष्ठ समेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाई गरेका छन् । १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमा संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।