Logo
Logo

तेह्रथुम : २० वर्षपछि जिल्ला फर्किएका विजयमाथि भारी बन्दै सीता


19.6k
Shares

तेह्रथुम । आसन्न निर्वाचनमा तेह्रथुममा २ पुस्ताबीचको प्रतिस्पर्धा छ । सत्ता गठबन्धनले नयाँ पुस्ताका युवा उम्मेदवारलाई अघि सारेको छ ।

नेकपा एमालेले पटक–पटक जिल्लाको नेतृत्वमा निर्वाचित भएर परीक्षण भइसकेका नेतालाई नै उभ्याएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि विजय सुब्बालाई उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेसकी युवा नेतृ सीता गुरुङ मैदानमा छिन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सुब्बाको राष्ट्रिय राजनीतिमा राम्रो पकड छ । सुब्बा जनताका सुखदुःखका गीत गाउने नेताका रूपमा पनि चिनिन्छन् । तर, केन्द्रीय राजनीतिमा भएको पकडलाई जिल्लाको विकासमा खर्चिन भने सकेनन् । विगतमा यहीँबाट २ पटक निर्वाचित भएपनि जिल्लाका लागि उनको सम्झनायोग्य योगदान भने केही पनि छैन ।

सुब्बा ०४८ र ०५६ मा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी जिल्लाको राजनीतिमा २० वर्षदेखि गुमनाम थिए । तर एमालेकै पूराना कार्यकर्ताले उनलाई अवसरवादी नेताका रूपमा चित्रण गर्छन् । ०७४ मा समानुपातिकबाट सांसद बनेका थिए । पहुँचमा भएपनि जिल्लाका लागि काम गर्न नसकेको र चुनाव लड्नैमात्रै जिल्ला आउने गरेको आरोप छ । कांग्रेसले भने यसपटक पनि अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी सीता गुरुङलाई उठाएको छ ।

केन्द्रीय राजनीतिमा उनको पनि कमजोर पकड होइन । सभापति शेरबहादुर देउवानिकट गुरुङ ०६४ र ०७० मा निरन्तर समानुपातिकबाट संविधानसभा सदस्य बनेकी थिइन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसकेकी छिन् । सुब्बा गुमनाम हुँदा जिल्लामा गरेका कामका कारण उनी जिल्लाकै आशालाग्दा नेतामध्ये एक हुन् । जिल्लामा उनको विकासप्रेमी नेताको परिचय बनेको छ ।

कांग्रेसको तेस्रो पटक केन्द्रीय सदस्य रहेकी गुरुङ ०७४ को चुनावमा बामगठबन्धनका उम्मेदवार खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । त्यसबेला बामगठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र यसपटक उनको साथमा छ । जिल्लामा पछिल्लो दशकमा सबैभन्दा धेरै विकासे योजना भित्राउने नेताकारुपमा रहेकी गुरुङले मध्यपहाडी लोकमार्गलाई जिल्लाका ६ मध्ये ५ पालिका भएर निर्माण गर्न मुख्य भूमिका खेलेकी थिइन् ।

सडक, पुल पुर्वाधार, खानेपानी र विद्युतीकरणमा गुरुङको योगदान रहँदै आएको छ । तेह्रथुमे जनताले जनमत दिएर काम गर्ने मौका दिए आफुसँग जिल्लाको समुन्नतिका लागि थुप्रै योजना रहेको उनको दाबी छ । त्यसो त सुब्बाले पनि कमजोर दाबी भने गरेका छैनन् । पटक–पटक चुनाव जितेरै सांसद भएपनि एमालेमा मन्त्री बन्ने अवसर नपाएका सुब्बाले अहिले पनि आश्वासन भने उत्तिकै बाँडिरहेका छन् ।

एमालेले ०१५ र ०६४ बाहेकका सबै आमनिर्वाचन जितेपनि एकपटक पनि मन्त्री नपाएको जिल्ला हो तेह्रथुम । यहाँबाट चुनाव जितेका खापुङ १ वर्षअघि एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेपछि अहिले स्वास्थ्यमन्त्री छन् । खापुङ यसपटक गुरुङकै लागि भोट मागिरहेका छन् । ०७४ मा खापुङ र गुरुङ नै प्रतिस्पर्धी थिए ।

प्रदेशमा पनि उस्तै

प्रदेशसभातर्फ पनि उस्तै अवस्था छ । एमालेले पटक–पटक मौका पाएर पनि लोकप्रिय काम गर्न नसकेका पूराना नेतालाई उठाएको छ भने सत्ता गठबन्धनबाट युवा र जुझारु नेता उम्मेदवार छन् । प्रदेशसभा–१ मा कांग्रेस युवा नेता सन्तोष सुब्बा उम्मेदवार छन् ।

एमालेले पाका नेता किशोरचन्द्र दुलाललाई उम्मेदवार बनाएको छ । बाबु–छोरा पुस्ताका दुलाल र सुब्बाबीच यहाँ रोचक प्रतिस्पर्धा देखिन्छ । तत्कालिन जिल्ला विकास समितिको सभापति दुलाल हाल एमालेको प्रदेश १ सचिवालय सदस्य छन् । एमालेको जिल्ला अध्यक्षसमेत हुन नसकेका दुलाल निरन्तर राजनीतिमा सक्रिय त छन् ।

तर मौका पाउँदा समेत लोकप्रिय काम गर्न नसकेका कारण जिल्लामा उनको पक्षमा जनलहर भने छैन । उनीसँगै मैदानमा उत्रिएका कांग्रेस नेता सुब्बा भने नयाँ अनुहार हुन् । पार्टी राजनीतिमा लोकप्रिय रहेका सुब्बा अब जनप्रतिनिधि बनेर जिल्लाको सेवा गर्ने दाबी गरिरहेका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापासँग निकट मानिने सुब्बा महासमिति सदस्य हुन् । उनी यसअघि कांग्रेसको जिल्ला सचिव र युवा भ्रातृ संस्था नेपाल तरुण दलको दुई पटक अध्यक्ष भएर काम गरिसकेका युवामाझ लोकप्रिय नेता हुन् ।

बाबु–छोरा पुस्ता मैदानमा

प्रदेशसभा–२ मा पनि बाबु–छोरा पुस्ताकै उम्मेदवार मैदानमा छन् । एमालेले जिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट माओवादी केन्द्रीय सदस्य युवा नेता दुर्गाप्रसाद चापागाईं उम्मेदवार छन् ।

कन्दङवा र चापागाईं दुवै एउटै गाउँका छिमेकीसमेत हुन् । तर कन्दङवा पटक–पटक अवसर पाएपनि देखिने गरी विकास गर्न नसक्ने नेताकोरुपमा चिनिन्छन् । चापागाईं उदाउँदो भविष्यकारुपमा परिचित छन् । केन्द्रीय नेतृत्वसँग राम्रो पकड बनाएका चापागाईंले जिल्लाको विकास निर्माणमा योगदान गरेका छन् ।

यसअघि वर्षमान पुन उर्जामन्त्री हुँदा उनको स्वकीय सचिव बनेका उनले जिल्लामा विद्युतीकरण र काठको पोल विस्थापनमा गरेको कामको चर्चा छ । तत्कालिन जिल्ला विकास समितिका उपसभापति समेत रहेका कन्दङवा ०७४ मा यहीँबाट प्रदेशसभा सदस्य निर्वाचित थिए । एमाले अध्यक्ष ओलीसँग निकट मानिने उनले ५ वर्षमा १ पटक मन्त्रीसमेत पाएनन् । प्रदेशसभामा समेत उनको भुमिका देखिएन ।

उनलाई जिल्लाका नागरिकका समस्या र गुनासा प्रदेशसभासम्म गर्न नसकेको आरोप छ । चापागाईं ०७० मा संविधानसभा सदस्यको उम्मेदवार थिए । उनी माओवादी जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका हुन् । यो क्षेत्र कुनै बेला बामपन्थीको किल्ला मानिन्थ्यो ।

तर वामपन्थी नेताले जिल्लाको विकास निर्माण र समुन्नतिलाई केन्द्रमा राखेर काम गर्न नसकेपछि जिल्लाको जनमत उल्टिँदो छ । ०१५ सालपछि निरन्तर नेकपा एमालेले जित्दै आएको यो क्षेत्रमा ०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेपछि कांग्रेसको पक्षमा जनलहर बढेको हो । त्यसबेला कांग्रेस नेता तुलसी सुब्बा निर्वाचित भएका थिए ।

०७४ मा बामगठबन्धनका कारण एमालेकै भवानीप्रसाद खापुङले जिते । ०७० मा पनि यहीबाट चुनाव जितेका उनी अहिले एमालेमा त छैनन् नै, राजनीतिबाटै रिङआउट भएका छन् । स्थानीय तह निर्वाचनमा ६ मध्ये ३ वटा जितेको कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि वर्चस्व कायम गर्न चाहन्छ ।

पछिल्ला तीन स्थानीय तह निर्वाचनको परिणाम पनि उस्तै गरी बामपन्थी जनमत उल्दिँदो देखिन्छ । ०५४ र ०७४ मा वर्चस्व जमाएको एमाले यसपटकको निर्वाचनमा आधा खुम्चिएको छ । यसपटक कांग्रेसले ३ स्थानीय तह जितेको छ भने अघिल्लो पटक ५ स्थानीय तह जितेको एमाले ३ वटामा खुम्चिएको छ ।

यसपटकको स्थानीय निर्वाचनको परिणामले जिल्लामा कांग्रेस पहिलो दल हो । स्थानीय तहका प्रमुखले प्राप्त गरेको मत जोड्दा कांग्रेस एमालेभन्दा १ हजार ३ सय ५९ मतले अगाडि छ । सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेसले २३ हजार ६ सय ७७ मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ३ सय १८ मत प्राप्त गरेको छ ।

चुनावको मिति नजिकिँदा जिल्लाको चुनावी परिणाम कसले हात पार्ला ? भन्ने बहस समेत चलेको छ । गठबन्धनका उम्मेदवार बलियो गठबन्धनलाई जनमतमा उतार्न चाहिरहेका छन् । एमाले आफ्नो पुरानो जित दोहोर्याउन लागेको छ । उम्मेदवार गाउँ–गाउँ पुगिरहेका छन् ।

तर एमालेमा आएको विभाजन, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धनका कारण यसपटक जिल्लामा गठबन्धनका उम्मेदवारको जित निश्चित रहेको कांग्रेस नेताहरु दाबी गर्छन् । त्यसमाथि एमालेको टिकट वितरणमा अध्यक्ष केपी ओली हाबी हुँदा जिल्लामा नेता कार्यकर्ताबीचको सन्तुलन भत्किएको एमाले नेताहरुकै भनाइ छ । गठबन्धनका नेता त्यसले जित सहज बनेको दाबी गर्छन् ।

एमालेमा जिल्लाबाट उम्मेदवार बनेका सबै नेता ओली गुटका हुन् । यसअघि जिल्लाको राजनीतिमा माधव नेपाल समूहको पकड थियो । तर नेपालले अर्को पार्टी खोलेपछि भने जिल्लाको राजनीति असन्तुलित बनेको छ । विगतमा नेपाल पक्षमा रहेर काम गरेका नेतालाई अहिले ओलीले मौका दिएनन् ।

०७४ मा प्रदेशसभा–१ बाट चुनाव जितेर मन्त्री समेत बनेका लोकप्रिय नेता लक्ष्मण तिवारीले यसपटक टिकट नै पाएनन् । उत्तिकै लोकप्रिय रहेका अनुभूतिबम नेपाली, जिल्ला समन्वय समितिका पुर्वप्रमुख शिवप्रसाद ढुंगाना लगायत नेताले समेत ओली गुटमा नभएकै कारण मौका पाएनन् ।

टिकट वितरणमा रहेको असन्तुष्टिको फाइदा पुग्ने गठबन्धनका नेताको अपेक्षा छ । एमालेका एक नेताले भने पार्टीभित्र कुनै असन्तुष्टि नरहेको दाबी गरे । यसपटक जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्