Logo
Logo

रूकुम पश्चिममा माओवादीकै वर्चस्व, जनार्दनको जित सुनिश्चित !


17.9k
Shares

काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको रूकुम पश्चिममा प्रतिनिधिसभातर्फ मुख्यगरी सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेकपा एमालेका नन्दराम देवकोटाले उम्मेदवारी दिएका छन् ।

गठबन्धनको भागबन्डाका आधारमा रूकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभा (क)मा माओवादीको भागमा परेको थियो । प्रदेशसभा (ख)मा भने कांग्रेस र माओवादी दुवैको नाम समावेश थियो । प्रदेश (ख)मा दुवै दलको नाम भएपछि रुष्ट भएका कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका थिए ।  

तर, कांग्रेसका नेताहरूले बागी उम्मेदवारी फिर्ता लिएपछि माओवादीलाई निर्वाचन जित्न झनै सजिलो हुने भएको छ । प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार तथा केन्द्रीय सदस्य मानबहादुर नेपाली र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएपछि अर्थमन्त्री शर्मालाई निर्वाचन जित्न झनै सजिलो भएको राजनीतिक वृत्तमा चर्चा छ ।

जिल्लाको प्रदेशसभातर्फ क्षेत्र (क)मा कांग्रेसका कृष्णबहादुर रोकायाले पनि उम्मेदवारी फिर्ता लिएका छन् भने (ख)मा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार प्रेमप्रकाश वली बैंकिङ कसुरमा दोषी ठहरिएकाले उनको उम्मेदवारी खारेज भएको छ । 

पश्चिम रुकुममा गत वैशाखको स्थानीय तह निर्वाचनमा मुसिकोट, चौरजहारी र आठबीसकोट गरी तीन नगरपालिका र बाँफिकोट, त्रिवेणी र सानीभेरी गरी तीन गाउँपालिका छन् । सबैमा नेकपा माओवादी केन्द्रले जितेको छ । एकाध वडाध्यक्ष बाहेक सबैमा माओवादी केन्द्रकै वर्चस्व छ ।

यसअघि रुकुम एक हुँदा पनि माओवादी केन्द्रको प्रभाव एकछत्र जस्तै थियो । अहिले पनि रुकुम पूर्व र पश्चिम दुवैमा माओवादीको वर्चस्व छ । रूकुम पश्चिममा माओवादीको वर्चस्व अझै केही वर्ष कसैले तोड्न नसक्ने बताइन्छ । माओवादीको वर्चस्व रहेको यहाँ  सत्ता गठबन्धनको सथा पाएका शर्माको जित सुनिश्चित जस्तै छ ।  

आगामी मंसिर चार गते हुने निर्वाचनका लागि यहाँ प्रतिनिधितर्फ स्वतन्त्रबाट राजन पाण्डे र तारक केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपककुमार मल्ल र मंगोल नेसनल अर्गनाइजेसनका हरिबहादुर पुनले पनि उम्मेदवारी दिएका छन् । तर उनीहरूको उम्मेदवारी कुनै फरक नपार्ने नेताहरू बताउँछन् । 

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट शर्मा नै निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार शर्माले कांग्रेसका गोपाल शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरेका थिए । ०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा पनि शर्माले सानदार मतसहित विजयी भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्