Logo
Logo
टिप्पणी

एमाले-जसपा गठबन्धन : सरासर अनैतिक र अराजनीतिक


6.1k
Shares

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा नेकपा (एमाले)मा उदेकलाग्दा घटनाक्रम देखिएका छन् । घनश्याम भुसाल, भीम रावलहरू टिकट पाउनबाट बञ्चित भएका छन् भने कमल थापा, एकनाथ ढकालहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेका छन् ।

जुन, सरासर अवैचारिक र अराजनीतिक हो । यो अप्राकृति यात्रामा उपेन्द्र यादवको जसपा पनि मिसिएको छ । एकले अर्कालाई लगाएका गम्भीर आरोपहरू बिर्सिदै रातारात ओली र यादव काँध मिलाउन पुगेका छन् । यसको दुष्परिणाम आगामी मंसिर ४ गतेको निर्वाचनमा आउने नै छ ।

उनीहरू विचार मिलेर, एजेण्डामा सहमत भएर होइन, निर्वाचन जित्न गठबन्धन गरेको बताइरहेका छन् । एमाले र जसपासामु जनतासँग भोट माग्ने एजेण्डासमेत छैन ।

निर्वाचन जित्न विचार र एजेण्डा चाहिन्छ भन्ने पाठ जनताले आगामी मंसिरमा पढाउने नै छन् । पूर्व झट्काको रुपमा एमालेबाट प्रभु साहको विद्रोह र जसपाका कार्यकर्तामा छाएको नैराश्यतालाई लिन सकिन्छ ।

जसपाले ओलीको दुई–दुई पटकको संसद विघटनलाई प्रतिगमन भन्दै आएको थियो । सर्वोच्च अदालतले नै असंवैधानिक कदम भन्दै ओलीको निर्णयलाई अंकुश लगाइदिएको थियो ।

के ओलीले गल्ती स्वीकारे ? कि, यादवले एमालेसामु माफी मागे ? यी दुईमध्ये एक नभइ बनेको एमाले–जसपा गठबन्धनलाई के भन्ने ? एमाले–जसपा गठबन्धनले निर्वाचन जित्यो भने प्रतिगमन अनुमोदन भएको मान्ने कि नमान्ने ? यसर्थ, जसपाले कम्तिमा एक निर्वाचन एमालेसँग गठबन्धन गर्न मिल्दैनथ्यो ।

बरु, लोसपा–एमाले गठबन्धन स्वाभाविक हुन्थ्यो । किनकि, हिजो ओलीको प्रतिरक्षाका लागि लोसपा सरकारमा गएको थियो । ओलीले त्यो गुण सम्झन चाहेनन्, बरु उनी राप्रपा र राप्रपा नेपाललाई बोक्न पुगे ।

एमालेले कमल थापाहरूलाई बोक्नु असंगत र अर्थहीन छ । एक सिट पनि जित्ने हैसियत नभएका प्रतिगामी तथा चरम दक्षिणपन्थी पार्टीको बीउ जोगाइदिन खोज्नुको अर्थ के ? यो वर्तमान शासन व्यवस्थाकै लागि हानिकारक छ ।

हुन् त, ओलीले प्रधानमन्त्री हुँदा संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणका सिद्धान्तलाई समाप्त गर्ने कोसिस गरेका थिए । सामन्त गोयललाई भेटेदेखि नै उनी प्रतिगामी षड्यन्त्रमा सक्रिय थिए । अहिले प्रतिगमनलाई जनअनुमोदन गराउन सकिन्छ कि भन्ने अन्तिम कोसिसमा उनी छन् ।

पार्टी बाहिरबाट मात्र होइन, भित्रैबाट पनि ओलीमाथि गम्भीर प्रश्न उठिरहेका छन् । कतिले मुख खोलेका छन् भने कतिपय उकुसमुकुस भएर बसेका छन् ।

केहीदिनअघि एमाले नेता भीम रावलले आफ्नै अध्यक्ष ओलीमाथि दर्जनौँ प्रश्न उठाएका छन् । ती प्रश्नको एक–एक जवाफ ओलीले दिनुपर्ने हो । तर, ओली त्यसका लागि तयार छैनन् । अब, ती प्रश्न जनताले ओली र उनको पार्टी एमालेका उम्मेदवारलाई चुनावी मैदानमा सोध्नुपर्छ । किनकि, लोकतन्त्रमा प्रश्न सोध्नु र त्यसको जवाफ खोज्नु सार्वभौम अधिकार र दायित्व हो ।

आन्तरिक लोकतन्त्रमा पनि ओली निकै कमजोर छन् । आफ्नै विगतसमेत ओलीले भुलेका छन् । ओली हिजो आफैँ करिव दुई दशक एमालेभित्र अल्पमतमा थिए । के ओलीलाई अहिले भुसाल र रावललाई जस्तै टिकटबाट बञ्चित गरिएको थियो ?

अहिले आफूसँग अध्यक्षमा पराजित भएका रावललाई टिकट नदिने ओलीलाई आठौँ महाधिवेशनमा निर्वाचित अध्यक्ष झलनाथ खनालले पराजित अध्यक्षका उम्मेदवार ओलीलाई टिकट नदिएको भए के हुन्थ्यो ? विचारणीय पक्ष के छ भने, रावल तल्लो कमिटीबाट एक्लै सिफारिस भएका थिए ।

तर, ओलीले रावलको स्थानमा दोस्रो व्यक्तिसमेत सहमत नभएपछि तेस्रो व्यक्तिलाई टिकट दिए । ओली नेतृत्वमा आएपछि एमाले किन यति साह्रो असहिष्णु भयो ? पार्टीभित्र र बाहिर हरेक सवालमा ओलीमाथि प्रश्न छन् । त्यसको जवाफ जनताले आगामी मंसिर ४ गतेको निर्वाचनमा दिने छन् ।

प्रतिक्रिया दिनुहोस्