Logo
Logo

को हुन् तीन कीर्तिमानसहित पाँच स्वर्ण जित्न सफल जयरानी ?


1.1k
Shares

पोखरा । नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जितेकी छन् । बिहीबार भएको महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै जयरानीको पदक संख्या ५ पुगेको हो ।

जयरानीले ५ खेलका स्पर्धा गरेकामा प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भएकी हुन् । जसमध्ये ३ वटा प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

पाँचौं स्वर्ण जित्ने क्रममा एपीएफ पहिलो भएपनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण जितेको हो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जयरानीले बुधबार ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदकसँगै राष्ट्रिय कीर्तिमानसमेत कायम गरिन् ।

यस्तै, उनले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् । खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी हुन् ।

साथै, उनले महिला लङजम्पमा पनि कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी छन् । जयरानीले नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताएकी उनले भनिन्, ‘कीर्तिमान सुधारसँगै स्वर्ण पदक पाउँदा धेरै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।’

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । ‘अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ’ उनले भनिन् ।

विसं २०७२ देखि खेल्न थालेकी हुन् जयरानीले त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन् ।

सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएकी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितेकी थिइन् ।

बर्दियाकी जयरानी विसं २०७६ साउनमा सेनामा भर्ना भएकी हुन् । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरै साथ र सहयोग रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्