Logo
Logo

‘हेभिवेट’को प्रतिस्पर्धा- देव र पृथ्वी दुवैलाई छैन सहज 


7.6k
Shares

काठमाडौं । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी  केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिएका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव र एमालेका पृथ्वीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पृथ्वी गण्डकीका पूर्वमुख्यमन्त्री हुन् भने देव पूर्वमन्त्री हुन् । 

यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरू जनता समाजवादी पार्टी नेपालका नरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाल चन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र प्रसाद प्रजापति, राप्रपाका कटबहादुर गुरुङलगायतका उम्मेदवारी रहेको छ ।  
०७४ सालको निर्वाचनमा देव, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट वाम गठबन्धनले जितेको थियो । देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री भए ।

अहिलेको दृश्य ठ्याक्कै त्यसको उल्टो छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ ।
देव योसँगै तेस्रो पटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधान सभाको निर्वाचनमा कास्की र मनाङबाट चुनाव जितेका उनी २०७४ सालमा लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका थिए ।

पृथ्वीसुब्बा अहिलेसम्म सातौँ पटक चुनाव लड्न लागेका हुन् । उनीसँग पटकपटक हारेको र दुई पटकमात्र जितेको अनुभव छ । ०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार छन् । पहिलो संविधानसभा र  ७४ मा प्रदेशसभा मात्र उनले चुनाव जितेका छन् । 

लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । पथ्वीको गृहपालिका क्वहोलासोंथार गाउँपालिकामा एमालेले क्लिनस्विप गरेको छ । तर, सङ्घमा देव गुरुङसँगको प्रतिस्पर्धा र स्थानीय तहको मत हेर्दा जोखिम छ ।

प्रदेशतर्फ गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा गठबन्धनभन्दा एमाले ३ सय २१ मतले अगाडि छ भने सङ्घमा करिब १ हजार ५ सय मतले गठबन्धन अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्