Logo
Logo

प्रभु साहको प्रष्टीकरण- अनैतिक राजनीतिको हिस्सा बन्नुभन्दा स्वतन्त्र ठीक लाग्यो


1.4k
Shares

गौर । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् ।

फतुवा विजयपुर नगरपालिका–१, घुसुकपुरमा आयोजित दीपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले साम्प्रदायिक शक्तिलाई मधेशको जिम्मा दिने केपी ओलीको गलत कदमविरुद्ध मधेशलगायतका क्षेत्रमा विद्रोहस्वरुप स्वतन्त्र उम्मेदवारहरु चुनावमा होमिएको बताए ।

विगतमा जसपाले देशमा मधेशी–पहाडीबीच साम्प्रदायिकता फैलाउने, गौर हत्याकाण्डजस्ता आपराधिक गतिविधिमा संलग्न र मधेशलाई भ्रस्टाचारको अखडा बनाउने जनता समाजवादी पार्टीको सम्पूर्ण अपराधको जिम्मा एमालेको काँधमा बोकाउने काम ओलीले गरेको भन्दै साहले अनैतिक राजनीतिको हिस्सा बन्नुभन्दा स्वतन्त्र हुन उचित लागेकाले एमालेको टिकटबाट चुनाव नलडेको बताए ।

एमालेले नीतिगत रुपमा एक्लै चुनाव लड्ने निर्णय गरेको विषय कोट्याउदै साहले कुर्सीका लागि ओलीले सबैथोक ठिक भनेर जसपा, राप्रपालगायतका शक्तिलाई बोक्नु अनैतिकताको पराकाष्ठा भएको बताए ।

‘यहाँहरु सम्पूर्णलाई थाहा छ, जसपा कस्तो पार्टी हो । यो त्यही पार्टी हो जसले मधेशी र पहाडीको बीचमा साम्प्रदायिकता भड्काई मधेशमा विध्वंस मच्चाएको थियो । गौर हत्याकाण्ड जस्तो नरसंहारमार्फत दर्जनौंको हत्या गरेको थियो, सयौंलाई घाइते बनाएको थियो’ उनले भने, ‘यो त्यही पार्टी हो जसले ५ वर्ष देखि मधेश प्रदेश सरकारमार्फत घोटाला माथि घोटाला गर्दै आएको छ, जसको विरुद्ध हामी लड्दै आएका छौं ।’

उनले गठबन्धन हुनुभन्दा एक हप्ता अगाडि मात्र जसपाले राष्ट्रपतिको पुतला जलाएको बताउँदै भने, ‘ओलीको पुत्ला जलाई एमाले बहिष्कार गर्न आह्वान गरेको थियो । यो कुरा आम जनसमुदायको अगाडि नै छ ।’

उनले थपे, ‘एमालेको कुरा गर्नुहुन्छ भने कुनै दलसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने नीतिगत निर्णय गरेको थियो । तर, सत्ताका लागि जे पनि गर्न पछि नहट्ने केपी ओलीको गुण रहेछ, त्यो हामीलाई थाहा थिएन । ओलीले मधेशलाई भ्रष्टाचारको अखडा बनाएको जसपालाई मधेशको जिम्मा दिन खोजेपछि मैले त्यस्तो नगर्न पटकपटक आग्रह गरिरहँदासमेत ओलीले वास्ता गर्नुभएन । नैतिकता गुमाइसकेका ओलीलाई त्यस्ता शक्तिहरुसँगको गठजोड सहज थियो, तर मेरो लागि विष पिउनु सरह थियो, मैले सकिन ।’

नेकपा एमालेको पूर्व स्थायी कमिटी सदस्य रहेका साहले ओलीले जसपासँग गठबन्धन गरेपछि एमालेको टिकट लत्याएर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् भने रौतहट क्षेत्र नम्बर २ मा किरण साहले उम्मेदवारी दिएका छन् ।

उनीसँगै रौतहट क्षेत्र नम्बर ३(क) बाट केशव चौधरी, ३(ख) वाट केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, २(ख) बाट प्रदेश सदस्य राजन यादव(मनोज), १(ख) बाट राजेश चौधरी, ४(ख) रवि जयसवालले प्रदेशसभामा उम्मेदवारी दिएका छन् । रौतहट बाहेक मधेशका अन्य जिल्लामा समेत उनको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वमन्त्री साहले अहिले ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’ संचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्