Logo
Logo

सी जिनपिङ माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली नेता


2.7k
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकाल लागि चयन भएका छन् ।

बेइजिङमा सम्पन्न २०औं राष्ट्रिय सम्मेलनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा महासचिवमा पुनः सीलाई अनुमोदन गरिएको हो । तर, यस सम्मेलनले पार्टीको शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ ।

वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् ।

६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । यस्तै, २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ११ जनामात्रै महिला समेटिएका छन् ।

केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्दैछ ।
एक साता लामो चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारालार्ई अझ सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ ।

तेस्रो कार्यकालका लागि अनुमोदन भएसँगै सी जिनपिङ माओत्सेतुङपछि सबैभन्दा शक्तिशोली नेता बनेका चिनियाँ मिडियाले चर्चा गर्न थालेका छन् । चीन सरकारको मुखपत्र द ग्लोबल टाइम्सले सीलाई माओत्सेतुङपछि शक्तिशाली नेताका रुपमा ब्याख्या गरेको छ ।

हाल सी पार्टीको महासचिव, राष्ट्रपति र जनमुक्ति सेनाको सुप्रिम कमाण्डर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्