काठमाडौं । सत्ता गठबन्धनसँग एक्लै भिड्ने दाबी गरिरहेका एमाले अध्यक्ष केपी ओलीले मनोनयनको दिनसम्म आइपुग्दा आफू नै असुरक्षित ठाने ।
अन्त्यमा आफुले निर्वाचन लड्ने झापा–३ मा बलियो प्रभाव रहेको राप्रपासँग तालमेल गरे । जसबापत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने निर्णय गरे । ओलीको यो कदमको झापा–३ का एमाले नेता कार्यकर्ता विरोधमा उत्रिए ।
ओलीकै निकट मानिने जिल्ला सदस्य डम्बरबहादुर गिरीले लिङ्देनविरुद्ध उम्मेदवारी दिए । एमाले कार्यकर्ताहरु भित्रभित्रै बागी उम्मेदवार गिरीका पक्षमा लाग्न थालेका छन् । सूर्यमुखी चुनावहिन्ह पाएका गिरी आफूलाई एमाले पार्टीको साथ रहेको बताउँछन् । परिस्थितीले स्वतन्त्रको लिस्टमा परेपनि झापा–३ का एमाले नेता र शुभचिन्तक साथीभाइकै सल्लाहमा पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको उनको दाबी छ ।
यहाँ सत्ता गठबन्धनबाट कांग्रेस नेता कृष्ण सिटौला उम्मेदवर छन् । लिङदेनविरुद्ध गिरीको उम्मेदवारीले आफूलाई फाइदा हुने कांग्रेसको बुझाइ छ । अर्को पार्टीको उही उम्मेदवारलाई पटकपटक मतदान गर्दा झापा–३ मा एमालेको संगठन ध्वस्त हुने उनको बुझाई छ ।
‘एमालेको नीति, नेतृत्व र कार्यक्रम मन पराएर हामीसँग गोलबन्द भएकालाई के जवाफ दिने ?, हामी दुःख, कष्ट गरेर पार्टी निर्माण गर्ने अनि हरेक निर्वाचनमा मतदान चाहिँ फरक विचार र नीति भएको उम्मेदवारलाई कसरी मतदान गर्ने ? के हरेक नागरिकको स्वतन्त्रता हुँदैन ?’ उनले ओलीलाई यसरी प्रश्न उठाएका छन् ।
गिरी गत स्थानीय निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित भएका हुन् । राप्रपाका रविन्द्र लिङदेनले ६ हजार ८ सय ५६ मत ल्याएर जिते । गिरी ४ हजार ६ सय ६६ मत पाएर उपविजेता बने । यहाँ कांग्रेसले २ हजार ७ सय ५८ र माओवादीले १ हजार १ सय ४९ मत पाए ।
यसरी हेर्दा २०७४ मा एमाले र माओवादीको समेत साथ पाएर अत्यधिक मतले जितेका राजेन्द्र लिङदेनका लागि यसपटक जित निकाल्न सहज छैन । एमालेबाटै बागी उठ्नु, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट पनि उम्मेदवारी पर्नु, स्थानीय निर्वाचनमा कांग्रेसको मत एमाले र राप्रपाको तुलनामा बलियो देखिनु र माओवादी–कांग्रेसको गठबन्धन रहेका कारण लिङ्देन जोखिममा छन् ।
यस क्षेत्रमा पर्ने २८ वटा वडामध्ये कांग्रेसले एक्लै १६ वटा जितेको छ । माओवादीले २, एमालेले ४ र राप्रपाले ५ वटा वडा जितेका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।