काठमाडौं । सीमा क्षेत्रमा सादा पोसाकमा खटिने घुमुवा प्रहरीको आपराधिक समूहसँग साँठगाँठ गरेर अनुचित लाभ लिदै आएको गृह मन्त्रालयको स्थलगत अध्ययनले औँल्याएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै निकायले सूचना संकलनका नाममा खटाउने यस्ता घुमुवाले आचरणविपरीतका काम गर्दै आएकाले त्यस्तालाई हटाउन भनिएको छ ।
सहसचिव डा.भीष्मकुमार भुषाल अध्यक्षताको समिति झापा, मोरङ र सुनसरी पुगेर स्थलगत अनुगमन गरेको थियो । जसक्रममा घुमुवाको विकृती व्यापक रहेको पाइएको छ ।
‘घुुमुवा प्रहरी एउटै कार्यालयमा सात वर्षदेखि बस्दै आएको पाइयो,’ समितिका एक अधिकारीले भने, ‘उनीहरूलाई हटाउन खोज्दा शक्तिकेन्द्रबाट दबाब आउने गरेको स्थानीय इन्चार्जहरूले बताए, घुमुवाकै कारण सीमा क्षेत्रमा ठूलो विकृति रहेछ ।’ कतिपय घुमुवाको पहुँच हाकिमको भन्दा धेरै हुने भएकाले हाकिमले चाहेर पनि हटाउन नसक्ने अवस्था रहेको बताइएको छ ।
प्रतिवेदनमा निश्चित मापदण्ड बनाएर मात्र घुमुवा खटाउन भनिएको छ । सशस्त्र प्रहरीले दुई महिनाअघि देशैभरिबाट घुुमुवा प्रहरी हटाई इन्टेलिजेन्स तालिम लिएकालाई खटाउन थालेको छ । तर, अझै पनि कतिपय इन्चार्जले गोप्य रूपमा घुमुवा खटाउने गरेको स्थलगत अध्ययनमा खुलेको छ । नेपाल प्रहरीभित्र पनि घुमुवाको विकृति हल गर्न छलफल हुँदै आए पनि नेतृत्वले यसमा कुनै ठोस कदम चाल्न सकेको छैन ।