Logo
Logo

उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यलय खोल्न पाउने


630
Shares

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यलय खोल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो । उक्त निर्देशनअनुसार प्रतिनिधिसभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभाका उम्मेदवारले एउटामात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् ।

यस्तै आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिइ निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानूनको अधीनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्नेछ । सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्