Logo
Logo

कांग्रेस ‘बागी’का कारण खतरामा एकीकृत समाजवादीका ७ शीर्ष नेता


146.5k
Shares

काठमाडौं । सत्तारुढ दल गठबन्धन बनाएर मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुँदैछन् । गठबन्धनबीच सहमतिमै सिट बाँटफाँट भएको छ । 

गठबन्धनबीच सहमतिमै सिट बाँडफाँट गरिएको भए पनि गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ‘बागी’का कारण अन्य दलका उम्मेदवार समस्यामा परेका छन् ।

गठबन्धनमा आवद्ध अन्य दलभन्दा कांग्रेसका बागी धेरै छन् । प्रतिनिधिसभा निर्वाचनमा मात्रै माओवादीविरुद्ध १० निर्वाचन क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीको भागमा परेको ७ निर्वाचन क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका शीर्ष नेताविरुद्ध नै कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका कारण गठबन्धनबीच नै विश्वासको वातावरण गुमेको छ । कांग्रेसको बागीका कै कारण एकीकृत समाजवादीका ७ शीर्ष नेता पराजित हुने खतरा देखिन्छ ।

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुन् । तर, नेपली कांग्रेसका विक्रम पाण्डेले पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएका छन् ।

जगन्नाथ खतिवडा उदयपुर–२ मा गठबन्धनका साझा उम्मेदवार हुन् । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्तासमेत रहेका खतिवडाविरुद्ध पनि कांग्रेसकै रामकुमार राईले बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट गठबन्धनका साझा उम्मेदवार हुन् । तर, सल्यानमा पनि ज्वालाविरुद्ध कांग्रेस नेता रविन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिएका छन् ।

पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुन् । तर, प्रेमविरुद्ध पनि कांग्रेसकै नरेन्द्रबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । झाँक्रीविरुद्ध पनि कांग्रेसका दामोदर भुसालले बागी उम्मेदवारी दिएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछाम–१ मा गठबन्धनका साझा उम्मेदवार हुन् । तर, उनीविरुद्ध पनि कांग्रेसकै राजन कुँवरले बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी कास्की–२ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालविरुद्ध पनि कांग्रेसकै महादेव गुरुङले बागी उम्मेदवारी दिएका छन् । बराल एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन् ।

गठबन्धनभित्रकै दलका नेता कार्यकर्ताबाट गठबन्धनबीच भएको सहमतिविपरीत बागी उम्मेदवारी परेपछि गठबन्धनलाई चुनौती बढेको छ । गठबन्धनकै नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका कारण आफ्ना उम्मेदवार पराजित हुने खतरा सम्वद्ध दलका नेताले  आकलन गरेका छन् ।

कांग्रेसले बागी उम्मेदवारलाई समय तोकेरै उम्मेदवारी फिर्ता लिन वा आफ्नो उम्मेदवारी निष्कृय भएको सार्वजनिक जानकारी गराउन निर्देशन दिएको थियो । कांग्रेसले तोकेको मितिमा केहीले उम्मेदवारी फिर्ता लिए पनि एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध परेको बागी फिर्ता भएन ।

उम्मेदवारी फिर्ता नलिने र आफ्नो उम्मेदवारी निष्कृय भएको जानकारी नगराएका नेता कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ । तर, गठबन्धन दलकै नेता कार्यकर्ता बागीका रुपमा चुनावी मैदानमा रहँदा भोट बाँडिनै र गठबन्धनका उम्मेदवार पराजित हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्